
कात्तिक १९ काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई मागी खानेहरुको शहर नबनाउन आग्रह गरेका छन्।
सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाण्डौ उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न मेयर शाक्यको आग्रह छ।
बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको खुलामञ्चमा खाना खुवाउने कामले शहरको लाज भएको भन्दै अभियान्ताहरुलाई कुनै निश्चित ठाउँमा खाना खुवाउने व्यबस्था गर्न मेयर शाक्यले आग्रह गरे। खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन नै गरेर काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको पनि दावीसमेत गरेका छन्।
‘काठमाण्डाैलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाण्डाै मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ’, शाक्यले भने।
कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामर्थ्य र सिपको आधारमा रोजगारी दिने उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend