
कात्तिक २५ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद जटिल बन्दै गइरहेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आआफ्नै अडानका कारण सचिवालय बैठक बस्न सकेको छैन।
दुई अध्यक्षबीच समझदारी बनेमात्रै बैठक बस्ने ओलीको अडान र विवादको छिनोफानो बैठकबाटै गर्नुपर्ने प्रचण्डको अडानका कारण बैठक बस्न सकेको छैन। प्रचण्डको अध्यक्षतामा बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्य्क्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बसेर ओलीलाई लिखित रुपमा बैठक बोलाउन आग्रह गर्दा पनि ओली बैठक बोलाउन सहमत भएका छैनन्। ओलीले त उक्त बैठकलाई गुटगत भेलाको संज्ञानै दिए।
अनौपचारिक बैठकबाट ओलीलाई सचिवालय बैठक बोलाउन प्रचण्ड पक्षले दिएको २ दिने समय पनि सकिएको छ। कुनै पनि हालतमा बैठक नबस्ने ओलीको हठले अब प्रचण्ड पक्षको कदम कस्तो होला भन्ने विषय चासोको विषय बनेको छ।
त्यसो त सोमबारअर्थमन्त्री एवं सचिवालय सदस्य विष्णु पौडेलले प्रधानमन्त्रीको सन्देश लगेर प्रचण्डसंग भेट गरेका थिए। उक्त भेटमा पौडेलले पार्टी विधानअनुसार १५ दिनभित्र बैठक बोलाइसक्नुपर्ने भएकोले सोहिअनुसार बैठक बोलाइने भन्दै अहिलेको अहिल्यै बैठक नबस्ने जानकारी गराएका थिए। जवाफमा प्रचण्डले बैठक डाक्न ओली सहमत नभए आफैले भएपनि बैठक बोलाउने चेतावनी दिएका थिए।
बैठकका लागि ओली तयार नहुनु र प्रचण्डले आफैले बैठक बोलाउने चेतावनी दिनुले नेकपाभित्रको विवाद झन् चर्किने संकेत देखिएको छ। यद्यपी ओलीको सहमतिविनै प्रचण्डले बैठक बोलाउछन कि बोलाउदैनन त्यो भने हेर्न बाँकी नै छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend