सुनौलो नेपाल – मेलम्ची खानेपानी आयोजनामा प्रधानमन्त्री कार्यालयले तदारुकता देखाएको छ।
बर्षौ देखी काठमाडौँबासीको सपना बन्दै आएको मेलम्चीको पानी अन्योल ग्रस्त भैरहेका बेला बुधबार प्रधानमन्त्री केपी ओलीका सल्लाहकारको टोली कार्य प्रगति बारे बुझ्न बुधबार आयोजनास्थल सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित मुहानमा स्थलगत भ्रमणमा गएका थिए।
आयोजनाको अनुगमन पश्चात कुनै अन्यथा परिस्थिति सिर्जना नभए नयाँ बर्ष २०७८ काे आगमनअघि नै व्यवस्थित रूपमा उपभोक्ताले आआफ्नाे घर र धारामा उपलब्ध हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री कार्यालयकै सक्रियतासंगै मेलम्चीको पानी मङ्सिरको दोस्रो साता देखि सुरुङमा पठाइने भएको छ। असारमा भएको दुर्घटनाको त्रुटि सच्याएर सुरुङ्गको पुनः परीक्षण गर्न लागिएको हो ।
मेलम्ची पुगेर फर्केपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिनुभएको जानकारी यस्तो छ।
मेलम्चीको पानी काठमाडौंमा ल्याउने चार दशक लामाे सपना कार्यान्वयनकाे नजिक आइपुगेकाे छ :
१. राष्ट्रिय गाैरवकाे मेलम्ची खानेपानी आयाेजना पूरा हुने अन्तिम चरणमा पुगेकाे छ । सिन्धुपाल्चोकको मेलम्ची खाेलाकाे पानी काठमाडौंकाे सुन्दरीजल ल्याई राजधानीबासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणकाे सपना कुनै अन्यथा परिस्थिति सिर्जना गरिएन भने नयाँ बर्ष २०७८ काे आगमनअघि नै व्यवस्थित रूपमा उपभोक्ताले आआफ्नाे घर र धारामा उपलब्ध हुनेछ ।
२. अहिले २७ किमी लामाे सुरूङबाट छिट्टै १७ कराेड लिटर पानी ल्याउने तयारी रहेकाे छ । सुरूङभित्रका गेटहरूकाे पुन:डिजाइन अनुरूप बलियाे पुन:निर्माणकाे काम धमाधम भइरहेकाे छ । र, आउँदाे मंसिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेकाे छ ।
३. यारी र लार्केबाट थप ३४ कराेड लिटर पानी ल्याउने हिसाबले हेड वर्क्सकाे तदनुरूप निर्माण तीब्र रूपमा चलिरहेकाे छ । सुरूङ जम्मा ५१ कराेड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेकाे छ । जम्मा २९ अर्ब बजेट लागतमा निर्माण भइरहेकाे यस आयाेजनाले राजधानीमा पानीकाे संकट र प्यास मेटाउन महत्त्वपूर्ण याेगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।
४. मेलम्चीको पानी ल्याई काठमाडाैंका सडक पखालिदिने भनी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालकाे आम निर्वाचनमा भाषण गर्नुभएकाे धेरैलाई संझना नेै छ । तर उहाँले दुई पटक प्रधानमन्त्री बन्दा आयाेजना अघि बढाउन कुनै सुरसार सम्म गर्नु भएन । तर आज तीन दशकपछि, अझ उहाँकाे अवशान भएकाे पनि करिब एक दशकपछि याे आयाेजना पूरा हुन गइरहेकाे छ । वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीकाे सफल नेतृत्वका कारण नै याे संभव भएकाे छ ।
५. हिजाे प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगाेपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयाेजना प्रमुख तिरेश खत्रीसहितकाे टाेलीले यस आयाेजनाकाे कार्य प्रगतिकाे स्थितिकाे स्थलगत र समग्र निरीक्षण गरेकाे छ ।
४. केही समयअघि इटालियन ठेकेदार कम्पनी भागेपछि आयाेजनालाई श्रम र सामान आपुर्ति गरी हालसम्म भुक्तानी पाउन नसकेका पीडितहरूका तर्फबाट त्यस अवसरमा आफ्ना समस्याहरू अविलम्ब सुनुवाइका लागि ध्यानाकर्षण पत्रसमेत प्रस्तुत गरिएकाे छ, जसमा स्थानीयले करिब ३६ कराेड र जम्मा १ अर्ब ३२ कराेड रूपियाँ बराबरकाे भुक्तानी पाउन बाँकी रहेकाे उल्लेख गरिएको छ । यस समस्याकाे विवेकसम्मत सम्बाेधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयाेजनाकाे सफल कार्यान्वयन अन्तिम चरणमा पुगेकाे स्पष्ट भएकाे छ ।