मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

भाइटिकाको दिन बालगोपालेश्वर मन्दिर बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ने 

भाइटिकाको दिन बालगोपालेश्वर मन्दिर बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ने 

कात्तिक ३० काठमाडौं – काठमाडौं महानरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ। भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माणकार्य सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो। यस वर्ष १ मंसिर सोमबार भाइटीका परेको छ।     

१२ वैशाख  २०७२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो। उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन्। भाइटीकाकै लागि मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको काठमाडौं महानगरपालिकाका वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताए।      

मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न अघिल्लो वर्ष २४ असामा  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो। भूकम्प गएकै वर्ष २ माघमा राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माणको शुरूआत रानीपोखरीबाटै गरेकी थिइन्।

भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो। पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन्। हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ।     

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend