
मङ्सिर ८ काठमाडौं – कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्री केपी ओलीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्सावासी उत्साहित देखिएका छन् । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयवासी हर्षित बनेका हुन् । कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो । पर्याप्त विद्युत् र इन्टरनेटको सेवासुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन् ।
यस्तै घुन्सा नमूना गाउँ बन्नेमा समेत उनीहरु विश्वस्त देखिएका छन् । “हाम्रो यस्तो दुर्गम गाउँमा प्रधानमन्त्रीलगायतको उपस्थितिले हामी धेरै आशावादी बनेका छौं, हामीले झेल्दै आएको स्वास्थ्य उपचार, विद्युत्, टेलिफोनसहित इन्टरनेटको समस्या समाधान हुन्छ होला”, स्थानीयवासी हिमाली चुङ्दाकले भने ।
विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पुर्याउनु परेको, देशविदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेको जस्ता पीडा स्मरण गर्दै चुङ्दाकले घुन्सावासी अब त्यस्ता समस्याबाट मुक्त हुनेमा ढुक्क रहेको बताए । यस्तै विगतका तुलनामा यस क्षेत्रमा पर्यटन गतिविधिसमेत बढेर जानेमा यहाँका बासिन्दा ढुक्क बनेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend