
मङ्सिर २१ काठमाडौं – नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ। नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार अनावरण गरिएको हो।
बाहिनीपति सहायक रथी सागरबहादुर थापाले शालिकको अनावरण गर्दै राष्ट्रपिताको शालिक अनावरण गर्न पाउँदा गौरवान्वित र हर्षित भएको बताए। नेपाली सेना सदैव असल र इमानदार हुनुपर्नेमा सहायक रथी थापाको जोड थियो।
“आधुनिक नेपालको पहिलो सेना प्रमुखको रूपमा पृथ्वीनारायणलाई सेनाले अङ्गिकार गरेको छ”, थापाले भने,“उहाँकै सम्मानमा शालिक निर्माण गरेर अनावरण गर्न पाउँदा गौरवको महसुस भएको छ।” यस परिकल्पनाकारलाई मूर्तरूप दिन तन, मन, वचन र कर्मले हरेक कार्यमा सहयोग गर्ने सबैलाई सहायक रथी थापाले धन्यवाद ज्ञापन गरे।
निर्माण सम्पन्न भएको शालिकले बाहिनीको सौन्दर्य बढाउन सहयोग पुगेको थापाले बताए। विभिन्न ब्यारेकमा पृथ्वीनारायण शाहको शालिक निर्माणले तीव्रता पाएकोसमेत थापाले सो अवसरमा जानकारी दिए।
पृथ्वीनारायणको पूर्णकदको शालिक निर्माणका लागि रु दुई लाख १४ हजार ९७१ खर्च भएको सहायक बाहिनीपति महासेनानी उत्तम खड्काले जानकारी दिए। उनका अनुसार शालिक निर्माणमा श्री नम्बर ३ बाहिनी अड्डाले रु ५३ हजार ७४३, श्रीजङ्ग गणले रु ४२ हजार ९७४, रणसिं दल गणले रु ४२ हजार ९९४ र भगवती दल गणले रु ३२ हजार २४६, दुर्गाभञ्जन गुल्मले रु २१ हजार ४९७, रणदल गुल्मले रु २१ हजार ४९७ लागत सहभागिता व्यहोरेका छन्। सेनाकै तीन कालिगडले उक्त शालिक निर्माण गरेका हुन्। सो अवसरमा सहायक रथी थापाले शालिक निर्माण गर्ने कालिगडलाई प्रशंसापत्रले सम्मान गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend