मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

बाँडेरै सकियो अस्पतालको जग्गा

बाँडेरै सकियो अस्पतालको जग्गा

मङ्सिर २२ काठमाडौं –  नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो। त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे।

बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो। भरतपुर अस्पतालको जग्गा थोरै भने होइन। अस्पतालको नाममा ३० बिघा ११ कट्ठा ६ धुर जमिन छ।

बाँड्दाबाँड्दै जग्गा अभाव भएको हो। अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले ६ बिघा, भरतपुर आँखा अस्पतालले ६ बिघा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर प्रयोग गरिरहेका छन्।

स्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ। अस्पतालले करिब १० बिघा मात्रै जमिन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले जानकारी दिए। उनले भने, ‘अब संरचना बनाउन हामीलाई जग्गा छैन।’

स्वास्थ्यमन्त्री ढकालले शिलान्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ। अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उनले बताए।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सिटिइभिटीको पुरानो संरचना रहेका क्षेत्रमा जग्गा लिएर भवन बनाउन गृहकार्य थालिएको जानकारी दिए। उनले भने, ‘बाँड्दाबाँड्दै जग्गा अभाव भयो।’

अस्पतालको गुरुयोजनाअनुसार संरचना निर्माणका लागि अन्य संघसंस्थालाई दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उनको भनाइ छ।

शैक्षिक प्रतिष्ठानका रुपमा अस्पताललाई विकास गरिँदैछ। त्यसका लागि आवश्यक संरचना निर्माण गर्न अस्पतालसँग जग्गा नभएको अधिकारी बताउँछन्। मदन भण्डारी ट्रमा सेन्टर, बहिरङ भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जग्गा छैन।

गुरुयोजनाअनुसार संरचना निर्माणका काम भने अघि बढिरहेको छ। चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामीको उपचार गर्ने संघीय अस्पताल भएकाले जग्गाको अभावमा अस्पतालको विकासमा बाधा नपुग्ने गरी काम अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए।

तत्कालिन राप्ती दुन विकास कार्यक्रम अन्तर्गत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालका लागि झण्डै ३१ बिघा जग्गा छुट्याएका थिए।

अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ बिघा जति मात्रै जमीन देखिन आएको अस्पतालको अभिलेखमा उल्लेख छ। डेढ बिघा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ।

विगतमा जग्गा पाएका संस्थालाई उचित ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा अस्पतालको प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको सरोकारवाला बताउँँछन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend