
काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरसविरुद्धको खोप जतिसक्दो चाँडो उपलब्ध गराउने तयारीमा सरकार जुटेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाचौं महासभालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘सरकार सबैलाई सहज रूपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ।’
उनले मुलकको आर्थिक क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै कोभिडविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्न निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आह्वान गरे।
‘यति बेला समग्र मानव जाति कोरोनाको महामारीबाट आक्रान्त छ, आर्थिक, सामाजिक क्षेत्र प्रभावित छ, हामी पनि त्यसबाट प्रभावित छौं, अहिले कोभिडलाई परास्त गर्दै आर्थिक–सामाजिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चुनौती बनेको छ,’ उनले भने।
मन्त्री पौडेलले सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कोभिडका बिरामीको उपचारले सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
कोरोनाकै बीचमा पनि सरकार उत्पादन र लगानीका क्षेत्रमा काम गर्न सकिने अनुकूल आधार निर्माण गर्नेतर्फ केन्द्रित भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले भोग्नुपरेका समस्या समाधानतर्फ केन्द्रित भएको बताए।
उनले कोभिडसँगै देशले भोगिरहेको आर्थिक क्षेत्रलाई उकास्ने गरी रचनात्मक र आलोचनात्मक रूपमा प्रस्तुत हुन सञ्चार क्षेत्रलाई अपिल गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend