रियाद । साउदी अरबको एक अदालतले एक महिला अधिकारकर्मीलाई पाँच वर्षको जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार ५ वर्ष ८ महिनाको जेल सजाय तोकेको हो ।
उनलाई आतंकवादसम्बन्धी अपराधमा संलग्न भएको आरोप लगाइएको स्थानीय सञ्चामाध्यमले जनाएका छन् । ती महिला अधिकारकर्मीले आतंकवादविरुद्धको कानुन उल्लंघन हुने गरी विभिन्न गतिविधिहरु गरेको अधिकारीहरुको दाबी छ ।
विदेशी नागरिकहरुसँग मिलेर साउदी अरबविरुद्ध षड्यन्त्र रचेको आरोपमा उनलाई सन् २०१८ को मे महिनामा पक्राउ गरिएको थियो । सोमबार उनलाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइए पनि उनले ३ वर्ष मात्रै जेलमा बस्नु पर्नेछ । अदालतले हथलौलले २ वर्ष १० महिना यसअघि नै जेलमा बसेकाले उक्त अवधि घटाएको छ । एजेन्सी