शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

वातावरण विभागको आग्रह : दीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनू

वातावरण विभागको आग्रह : दीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनू

पुस २२ काठमाडौँ, दुई दिनदेखि राजधानी काठमाडौँमा घाम लागेको छैन । जाडोयाममा घाम नलाग्दा त्यसले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई सबैभन्दा बढी मारमा पारेको छ । 

काठमाडौँमा धुम्म तुवाँलो लागेको छ । तुवाँलोका कारण घाम लाग्न सकेको छैन । हावा नचल्दा तुवाँलो फाट्न सकेको छैन । सोही कारण मानव स्वास्थ्यमा त्यसले नकारात्मक प्रभाव पार्ने देखिन्छ । 

मौसममा आएको बदलीका कारण काठमाडौँवासीमा स्वास्थ्य समस्या बढ्ने जोखिम पनि उत्तिकै देखिएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिकरूपमा बढेको वातावरण विभागको भनाइ छ । 

विभागले विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवम् दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । घरबाहिर ननिस्कन र सबै नागरिकले निस्कनै परे विशेष सावधानी अपनाउनसमेत अपिल गरेको छ । विभागमा महानिर्देशक मुकुन्दप्रसाद निरौलाका अनुसार वातावरणमा देखिएको परिवर्तनलाई आत्मसात् गरेर तोकिएका उमेर समूहलाई घरमै रहन आग्रह गरिएको हो । 

काठमाडौँ उपत्यकामा विशेष गरी पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधनले फालेको धुवाँका कारण पनि प्रदूषण बढेको छ । यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन चलाउँदै आएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिजेल र पेट्रोल सवारीलाई क्रमशः विस्थापित गर्दै लानेतर्फ सरकार र सरोकार भएका निकाय तथा क्षेत्रको ध्यान जानुपर्ने बताउँछन् । 

विद्युतीय सवारी साधनलाई बढावा दिने सरकारको लक्ष्य भए पनि सो अनुसार प्रभावकारीरूपमा काम हुन नसकेको भन्दै अध्यक्ष थापाले सरकारले नै विद्युतीय सवारी साधन सञ्चालनमा जोड दिनुपर्ने बताउँछन् । आकाश घुम्म भए पनि चिसोको मात्रा भने बढेको छैन । मानिसहरूले घर बाहिर निस्कँदा मानिसले आँखा पिरो भएको र श्वास फेर्न केही असजिलो भएको अनुभव गरेका थिए । 

विभागले काठमाडौँ उपत्यकाबाहेक तराईका नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको जनाएको छ । तराईका नागरिकलाई पनि विशेष सावधानी अपनाउन आग्रह गर्दै भनेको छ, “फोहोर वा आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ ।” 

वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेका केही समयसम्म प्रदूषण यस्तै रहन सक्ने वा अझै खराबसमेत हुने सम्भावना रहेका हुनाले विशेष सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । 

जल तथा मौसम विभागले तराईका धेरै स्थानमा लागेको हुस्सु र कुहिरो लागेको जनाएको छ । कुहिरो र हुस्सु लागेका स्थानमा राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनाका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्ककता अपनाउन अनुरोध गरेको छ । 

विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली हुनेछ । ती प्रदेशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जानकारहरूले झ्याल ढोका खोलेर स्वच्छ हावा बहने वातावरण बनाउन आग्रह गरेका छन् ।

Air pollution.jpg

याे पनि पढ्नुहाेस् ।

काठमाडौं उपत्यकामा उच्च वायु प्रदूषण, सावधानी अपनाउन विज्ञको सुझाव 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend