
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।
गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबिच सदभावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छन् ।
पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गरी आत्मनिर्भर र समाजवादोन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् ।
नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ ।
विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफल भएका थिए । नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई उनले अनुसरण गरे ।
नेपालको भूअवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायणले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडेर गएका छन् । उनका उपदेशले राष्ट्रिय आत्मनिर्भरता हाँसिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend