बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

समयमा मल नल्याउने कम्पनी कारबाहीमा, धरौटी जफत

समयमा मल नल्याउने कम्पनी कारबाहीमा, धरौटी जफत

काठमाडाैं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुबै कम्पनीलाई कारबाही गरिएको हो । 

कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुबै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सम्झौता अवधि सकिँदासम्म मल खरिदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि कारबाही गरिएको हो । 

५० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल गरी ४५ हजार मेट्रिक टन रासायनिक मल खरिदको जिम्मा पाएको मुक्तिनाथ कम्पनीकोे गत मंसिरमा सम्झौता अवधि सकिएको थियो । सम्झौता अवधि सकिएपछि कृषि कम्पनीले मुक्तिनाथलाई ५४ दिनको अवधि थप गरेको थियो । तर, थपिएको अवधिमा समेत मल खरिदको प्रक्रिया सुरु नगरेपछि कारबाही गरिएको उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरिद गर्न गत १८ साउनमा दुबै ठेक्कामा सम्झौता गरेको थियो । नियमानुसार सम्झौता गरेको १ सय ७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरिद गरिसक्नुपर्ने हुन्छ । मुक्तिनाथ कम्पनीले धरौटी राखेको ९ करोड ३१ लाख ३२ हजार रकम जफत गर्दै कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरिएको छ ।

यसअघि दुई वटा ठेक्कामा कारबाही गरिएको शैलुङलाई पुनः तेस्रो ठेक्कामा समेत कारबाही गरिएको छ । कृषि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीका अनुसार पुस पहिलो साता २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न गत साउनमा सम्झौता भएको थियो । सो कम्पनीले समेत सम्झौता अवधिमा मल खरिद गर्न नसकेपछि धरौटी राखेको ४ करोड ९२ लाख जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरिएको हो । 

१ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्न विभिन्न समयमा आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार तीन वटा कम्पनी छनोट गरिएको थियो । तीन वटा कम्पनी छ वटा ठेक्कामार्फत रासायनिक मल खरीदमा संलग्न भए पनि कुनै पनि कम्पनी मल खरिदमा सफल हुन सकेनन् । मल खरिदमा तीन वटा ठेक्का पाएको (सबैभन्दा धेरै) शैलुङले ८० हजार मेट्रिक टन, होलीको मल्टिपल कम्पनीले २५ हजार र मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार मेट्रिक टन गरी ६ अर्ब बढीको ठेक्का पाएका थिए । 

कुन कम्पनीलाई कतिको ठेक्का ? 

कृषि सामग्री कम्पनीका अनुसार शैलुङले पहिलोपटक गत साउनमा २५ हजार मेट्रिक टन युरिया ल्याउन ९३ करोड ४८ लाख ८० हजार, दोस्रो पटक गत कात्तिकमा ३० हजार टन युरिया ल्याउन १ अर्ब ९ करोड २० लाख ५६ हजार ७ सय र तेस्रो पटकमा २५ हजार मेट्रिक टन युरिया ल्याउन ९४ करोड ६ लाख ९३ हजार ७ सय गरी २ अर्ब ९६ करोड ७६ लाख बढीको ठेक्का पाएको थियो । 

यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले २५ हजार मेट्रिक टन युरिया ल्याउन १ अर्ब १० करोड ४८ लाख २३ हजार र २० हजार मेट्रिक टन डिएपी ल्याउन ७५ करोड २५ लाख ५५ हजार गरी १ अर्ब ७५ करोड ७३ लाख बढीको ठेक्का पाएको थियो । होनिको मल्टिपलले २५ हजार टन युरिया मल ल्याउन ९३ करोड २५ लाख रुपैयाँको ठेक्का हात पारेको थियो । रासस

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend