काठमाडौ । लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन । नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भएपनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ ।
यस्तै अंग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटर भन्दा कम हुने अनुमान छ । जलवायुविद् डा धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताए । नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रिय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वास्फको कमीले वर्षा हुन सकेको छैन ।
हिउँदे वर्षाको महत्व
नेपालमा हिउँदे वर्षाको निकै महत्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य श्रोत नै हिउँदे वर्षा सँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनःभरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमीन भित्र गइ जम्मा हुन्छ । यो नै पछि गएर मुलको रुपमा बाहिर आउँछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनःभरण हुन पाउँदैन जसको असर वर्षायाममा मुल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मुल फुट्न नै नसक्ने हुन्छ । अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदुषण बढाउछ । प्रदुषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ ।
नेपाली आकाशमा रहेको प्रदुषित हावालाई पश्चिमी वायुले बिस्थापित नगरेसम्म पानि पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने श्रोतमा आएको सुख्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदुषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।
हिउँदे वर्षा र कृषि
हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो अशर गर्ने देखिएको छ । गहुँ, जौ, तोरी, केराउ जस्ता बालि हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा खेत, बारीमा छरेको अन्न नै उम्रन सक्दैन । आवश्यक चिस्यानको कमीले बीउ अङ्कुरित हुन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन । जसले खाद्य संकट निम्त्याउछ । नेपालमा धान मकै पछिको प्रमुख बालि गहुँ हो जुन पूर्णरुपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिंचाई भन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ ।
जलवायुविद् डा उप्रेतीले सरकारका प्रमुख दुई निकाय जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको अवस्था र कृषि मन्त्रालयले हिउँदे बालीमा कम उत्पादन हुन्छ भनेको अवस्थामा पनि सरकारको पूर्वतयारी नहुनु बिडम्बना भएको टिप्पणी गरे । पूर्वानुमानअनुसारको पूर्वतयारी नगर्दा आइपर्ने संकट व्यवस्थापन गर्न नसकिने खालको हुने बताए ।
हिउँदमा लगातार सुख्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धिले अर्थ व्यवस्थामा दबाब परिरहेको छ । कृषिमा आश्रित हुने जनसमुदाय अझ आफूले खानको लागि मात्र उत्पादन गर्ने किसानलाई चाहीँ हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् ।
यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाईं सराइलाई बढाइरहेको छ । केही वर्ष यता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ । हिउँदे वर्षा हराउँदै गएको छ भने पहिला जुन रुपमा जुन ठाउँसम्म हिउँ पथ्र्यो अहिले त्यहाँ पानी पर्न थालेको छ । हिउँ पर्ने रेखा माथि सरेको छ । यसको अर्थ हिउँ पर्ने अल्टिच्युट नै परिवर्तन भएको छ ।
हिउँदे वर्षा र मानव स्वास्थ्य
हिउँदे वर्षा नहुँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । मानिसले दैनिक प्रयोग गर्ने पानिको उपलब्धतामा कमी आउछ भने उपलब्ध भएको पानीको गुणस्तर पनि नहुने हुन्छ । जसले प्रदुषित पानी र प्रदुषित पर्यावरणले जनस्वास्थ्यमा सिधा नकारात्मक असर गर्दछ । जलवायुविद् डा उप्रेतीले हिउँदे वर्षा नहुँदा खाने पानीमा असर हुने बताए । पानी पर्ने तौरतरिकामा परविर्तन हुने बित्तिकै त्यसको सिधा असर पानीको गुणस्तर र परिणाममा समेत पर्ने भएको हुनाले पानीका स्रोत संरक्षणका लागि सरकारले तदारुकताको साथ काम गर्नुपर्ने बताए ।
पानीको उपलब्धताको कमी हुनु, गुणस्तरीय नहुनु, वातावरण प्रदुषित नै रही रहनु, जमिन भन्दा नजिकै रहने धुलोको कण मिश्रित वायुले लामो समय चिसो र सुख्खा बढाउने भएकाले जनस्वास्थ्य जोखिमपूर्ण बन्ने सम्भावना छ । अस्पताल र स्वास्थ्य संस्थामा जोखिम मूल्यांकन गरेर आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यक छ । यस समयमा फैलनसक्ने संक्रामक रोग बिरुद्ध लड्न सरकारले पूर्णकालिन योजना नै बनाएर लागू गर्नुपर्दछ ।
सबै प्रकारका मौसमजन्य विपद्को अलग—अलग अनुकुलनको कार्यक्रम
नेपालको जलवायु र मौसममा आइरहेको अस्वाभाविक परिवर्तन अनुकुलको कार्ययोजना बनाउन आवश्यक छ । नेपालमा केही वर्ष यता मौसमजन्य विपदका घटना बढिरहेको सन्दर्भमा सबै मौसमको लागि अनुकुलनको योजना आवश्यक रहेको छ । सबै प्रकारका मौसमजन्य विपदका घटना बाहिर आइसकेको अवस्थामा एउटा मात्र (मनसुन र गर्मी) मौसमको लागि अनुकुलनको कार्यक्रम सञ्चालन गरेर हुँदैन ।
जलवायुविद् डा उप्रेतीले चिसोमा हुने अनुकुलन कार्यक्रम र बढी गर्मी तातो भएमा लागू गर्ने अनुकुलनको कार्यक्रम फरक हुने बताए । बाढीको अनुकुलनको अवस्था एउटा हुन्छ भने पहिरोको अनुकुलनको अवस्था अर्को हुन्छ । प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानी नोक्शानी फरक फरक हुने भएकाले फरक तरिकाले नै त्यसलाई अवलम्वन गर्नुपर्छ । हामीले बनाएको राष्ट्रिय अनुकुलन कार्यक्रम र योजनामा सबै प्रकारका जलवायु जन्य विपद्का अलग अलग अनुकुलनको कार्यक्रम राख्न ढिलो गर्नुहुन्न । प्रत्येक प्रकोपले निम्त्याएको हानी नोक्शानी फरक—फरक आयतन र विशेषताको छ ।
हामीले बनाउने पूर्वतयारी र अनुकुलनको योजना त्यसै अनुसारको बनाउनु पर्नेछ । सिमित श्रोत साधन भएको र कमजोर आर्थिक अवस्थामा यसका कार्यक्रम बनाएर लागू गर्नु चुनौतिपूर्ण छ । तर यो बाध्यात्मक अवस्था हाम्रा अगाडि छ । चुनौति बिरुद्ध लड्न सरकारी तथा गैरसरकारी सबैको साझेदारी आवश्यक छ ।
मौसमबारे पूर्वसूचनाको व्यापकता आजको आवश्यकता
हामीले मौसम बारेको पूर्वसूचनाको व्यापकतामा काम गर्नुपर्ने छ । नेपाल धेरै प्रकारको विपद्को जोखिममा छ । विपद्लाई रोक्न सकिन्न तर सम्भावित जोखिम र अनपेक्षित हानिनोक्शानी कम गराउन सकिन्छ । अहिले वर्षा हुन नसक्दा सुख्खापन गहिरिँदै गएको छ । सँगै वायु प्रदुषणको मात्रा बढेको छ । यस्तो अवस्थामा दैनिक जीवन र प्राथमिकता फरक गर्न सक्नुपर्छ । व्यक्तिगत रुपमा सकेसम्म घर बाहिर ननिस्कने, निस्के पनि शरीरको धेरै भाग ढाकिने कपडा लगाएर निस्कने, मास्क लगाएर निस्कने गरेर व्यवहारमा परिवर्तन गर्न सकिन्छ ।
यो सबै पूर्वसूचनामा आधारित भएर सम्पादन गर्न सकिन्छ । पूर्वसूचनामा वायु प्रदुषण बढेको छ भन्ने पाइयो भने, सार्वजनिक गाडी प्रयोग गर्ने, पेट्रोल खपत हुने सवारी साधनको सञ्चालनमा नियन्त्रण गर्ने, स्कुल र कलेजको अध्यापन सञ्चालन अवधि छोट्याउने जस्ता कार्य गर्न सकिन्छ जसले जोखिम र हानि, नोक्शानी कम गर्न सकिन्छ । दैनिक मौसम जानकारी सुविधाको कुरा मात्र होइन तर सार्वजनिक जीवन, स्वास्थ्य, सुरक्षा, र आर्थिक स्थिरताको रक्षा गर्न एक महत्वपूर्ण कारक पनि हो । समयमै र सही पूर्वानुमान प्रदान गरेर, मौसम जानकारीले व्यक्तिहरू, समुदायहरू र सरकारहरूलाई सुचित गरी निर्णयहरू लिन सक्षम बनाउँछ ।
हामी अहिले हिउँदे याममा छौँ । हिउँदे जलवायु पनि नेपालका लागि महत्वपूर्ण मानिन्छ । तर पछिल्लो केही वर्ष यता प्रक्षेपण गरिएअनुसार हिउँद याम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको छ ।