बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

भूकम्प सुरक्षा दिवस : भक्तपुरमा विशेष कार्यक्रम 

भूकम्प सुरक्षा दिवस : भक्तपुरमा विशेष कार्यक्रम 

काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा शुक्रबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।

यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए। नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए। सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि पाँच वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन् । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण यसै वर्ष सम्पन्न भएको छ ।

दिवसका अवसरमा मूल समारोह समितिले शुक्रबार भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ । यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीकोसमेत आयोजना गरिने जनाइएको छ। प्रदर्शनी माघ २ गते ३ बजेदेखि ५ बजेसम्म र माघ ३ देखि ५ गतेसम्म बिहान १० देखि १२ बजे, दिउँसो १२:३० देखि २:३० एवं दिउँसो तीनदेखि पाँच बजेसम्म खुला रहनेछ । यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ । रासस

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend