
काठमाडौं माघ ४ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तारको काम अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो । हालसम्म सो सडकको निर्माणको काम सात प्रतिशत सकिएको डिभिजन प्रमुख कुबेर नेपालीले जानकारी दिए ।
टुन्डी सुसन जेभिसँग सो सडकको निर्माण छ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । सडकका लागि रु १२ करोड छुट्याइएकामा रु आठ करोडमा ठेक्का सम्झौता भएको उनले बताए । उनका अनुसार सडकमा तीन लेन थपेर बिस्तार गरिनेछ । उनले भने, ‘कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दायाँ दुई लेन र बायाँ एक लेन थप गर्न लागिएको छ ।’
सडक निर्माणका क्रममा विमानस्थलको सुरक्षालाई पनि ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकाले घर धनीसँग कुरा भइरहेको र सहमतिमा ल्याएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भइरहेको छ ।
सडक निर्माणको केही समयमा भत्काउन नपरोस् भनी सडकमा बिच्छ्याउने संरचना पहिले नै राखिनेछ । यसका लागि विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वयमा संरचना निर्माण भइरहेको छ । सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ ।
त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने राकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ ।
अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीन रुपमा यसको समाधान ‘अण्डर पास’ वा ‘फ्लाई ओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । रासस
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend