काठमाडौं । सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) ले मुगु कर्णाली र किमाथांका जलासय जलविद्युत आयोजनामा पर्याप्त वित्तीय लगानी जुटाउन आव्हान आशयपत्र रद्द गरेको छ ।
कम्पनीले शुक्रबार सूचना जारी गर्दै वित्तीय लगानी जुटाउन आव्हान गरिएको आशयपत्र रद्द गरिएको जानकारी दिएको हो ।
कम्पनीले वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको थियो । कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि लगानीका लागि सार्वजनिक सूचना निकालेको थियो ।
कम्पनीले परियोजनामा लगानी गर्न चाहाने इच्छुकहरुलाई पुस २३ गते १२ बजेसम्म आवेदन दिन सक्ने गरि सूचना निकालेको थियो ।
सुरुमा १५ दिनभित्र प्रस्ताव पेस गर्ने गरी ९ गतेसम्म आवेदन दिन सकिने गरी प्रस्ताव आह्वान गरेको थियो । पछि फेरि १५ दिन समय थप गरेको थियो ।
लगानी प्रस्तावका लागि दुई पटकसम्म सूचना निकालेको कम्पनीले अन्तत: लगानी जुटाउन आव्हान गरेको आशयपत्र नै रद्द गरेको हो ।
यस्तो छ कम्पनीले जारी गरेको सूचना

दुई जलविद्युत आयोजनाको जडित क्षमता २३ सय ५६ मेगावाट छ । दुई आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
दुई आयोजना लगानी साझेदारीमा निजी क्षेत्रमार्फत बनाउन विद्युत उत्पादन कम्पनीले वित्तीय लगानी प्रस्ताव आव्हान गरेको थियो । कम्पनीका अनुसार दुई आयोजना स्वदेशी लगानीकर्तामार्फत सार्वजनिक निजी साझेदारीढाँचामा लगानी जुटाउने प्रक्रिया अघि बढाइएको थियो ।
मुगु कर्णाली नेपालमा हाल अध्ययन भइरहेकामध्ये सबैभन्दा ठूलो जलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाले वार्षिक ५ अर्ब ८८ करोड ३१ लाख युनिट बिजुली उत्पादन गर्ने संभाव्यता अध्ययनले देखाएको छ । कर्णाली नदीमा पहिचान भएको यो आयोजना सबैभन्दा माथि निर्माण हुनेछ ।
आयोजनाको बाँध करिब २८५ मिटर उचाइको हुने अनुमान छ । यो आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी चार जिल्ला र सुदूरपश्चिमको बाजुराका विभिन्न क्षेत्रहरु प्रभावित हुनेछ ।
आयोजनाबाट प्रभावित हुने जिल्लाअनुसार गाउँपालिकामा हुम्ला जिल्लाको सर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् भने बाजुराका हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिका रहेका छन् । त्यसैगरी मुगुका खत्याड र सोरु गाउँपालिका, कालीकोटको पताला गाउँपालिका र जुम्लाका कनका सुन्दरी र सिञ्जा गाउँपालिका रहेका छन । यो आयोजना नेपाल चीन सीमा नजिक पर्छ ।
किमाथान्का अरुण अर्धजलाशययुक्त आयोजना संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल–चीन सीमा नजिक पर्छ । आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड रहेको छ ।
यो पनि :
मुगु कर्णाली र किमाथान्का जलविद्युत बनाउन आधादर्जन कम्पनीको प्रस्ताव, भियुसिएलले मूल्याँकन गर्दै
मुगु कर्णाली र किमाथांका अरुणमा पर्याप्त वित्तीय प्रस्ताव नपरेपछि १५ दिन थप
मुगु कर्णाली र अरुण किमाथांका निजी साझेदारीमा बनाउन सरकारले माग्यो प्रस्ताव, ५ खर्ब ५३ अर्ब लाग्ने
प्रतिक्रिया दिनुहोस