
काठमाडौं । अब अतिरिक्त सुरक्षाकर्मी घरमा राखेमा उनीहरूको तलबलगायतका सेवा–सुविधा सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्नेछ । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको खबर आजको नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा अनावश्यक सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्ने उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो ।
व्यक्तिगत सुरक्षाका नाममा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मीको दुरुपयोग भइरहेको गृह मन्त्रालयको आँकलन छ ।
‘विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा केही हेरफेर भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले भने, ‘सुरक्षासम्बन्धी विषय भएकाले यो बाहिर ल्याउन मिल्दैन ।’
अहिले खासगरी पूर्वमन्त्रीहरूले ठूलो संख्यामा सुरक्षाकर्मीको दुरुपयोग गरिरहेका छन् । केही पूर्वमन्त्रीहरूले श्रीमती र छोराछोरीका लागि समेत प्रहरीबाट चालक राखेका छन् ।
उच्चपदस्थ व्यक्तिहरूबाट सुरक्षाकर्मीको दुरुपयोग रोक्न यस्तो व्यवस्था गरिएको गृहका एक उच्च अधिकारीले बताए । ‘यो प्रावधानपछि धेरैले सानका लागि घरेलु कामदारका रूपमा राखेका सुरक्षाकर्मी फिर्ता गर्ने हाम्रो आकलन छ,’ ती अधिकारीले भने ।
पूर्वप्रहरी अधिकारीले पनि नियमविपरीत चालक तथा घरेलु कामदारका रूपमा सुरक्षाकर्मीलाई घरमा राखेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा यस्तो समस्या छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend