
काठमाडौं ।पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटुमा पहिलो पटक नेपालीले पाइला टेकेका छन् । अहिलेसम्म कसैले पनि यो शिखरमा हिउँदको समयमा पाइला राख्न सकेका थिएनन् ।
पाकिस्तानी समयअनुसार शनिबार साँझ ५ बजे ८ हजार ६ सय ११ मिटर अग्लो केटुको १० जना नेपाली पर्वतारोही टिमले सफल आरोहण गर्दे इतिहास रचेका हुन ।
गत साता स्पेनका एक पर्वतारोहीले आरोहणको असफल प्रयास गरेका थिए । हिमाल चढ्ने क्रममा उनको चिप्लिएर ज्यान गएको थियो । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमालमा सफल आरोहण गरेको टीमका एक सदस्य निर्मल पुर्जाले सामाजिक संजालमार्फत बताएका हुन् ।
उनले भनेका छन्, ‘मानव जातिको इतिहासको हिस्सा भएकोमा हामीलाई गर्व छ । साथ मिलेर र एक सकारात्मक मानसिकताले सीमाहरुलाई पनि तोड्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’
यो हिमाल पर्वतलाई सबैभन्दा खतरनाक हिमाल मानिन्छ । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको भए पनि अन्तिममा ६० मध्ये १० जनाले मात्र सफल आरोहण गरेका हुन् ।
शिखरभन्दा १० मिटर तल टिम जम्मा भएर नेपालको राष्ट्रिय गीत गाउँदै हिमाल चढेको फुर्वाले लेखेका छन् ।
१० जनामा पुर्जासहित मिग्मा डेभिड शेर्पा, मिग्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा टेम्बा शेर्पा, मिग्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्मा र सोना शेर्पा रहेका छन् । बीबीसी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend