
सिमिकोट माघ ८ । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमिकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो ।
बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण हवाई सेवा प्रभावित भएको जनाइएको छ । नेपालगञ्जमा बाक्लो हुस्सु र सिमिकोटमा बिहानदेखि हवाहुरी चलेका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
हरेक बिहान साढे ६ बजेदेखि ७ बजेभित्र सिमिकोट विमानस्थलमा हवाईजहाज अवतरण हुने भएपनि तराईमा चलेको शीतलहर र हुम्लामा चलेको हावाहुरीकै कारण कुनै जहाजले सिमिकोटमा उडान नभरेको विमानस्थलले जानकारी दिएको छ ।
नेपालञ्जको मौसम सफा भए पनि सिमिकोटमा बिहानै चलेको हावाहुरीले हवाई उडान प्रभावित भएको हो । सुर्खेतमा मौसम सफा भए पनि जहाज नभएका कारण उडान हुन नसकेको हो । नेपालगञ्ज र सुर्खेतबाट सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लाका लागि उडान भर्ने गर्छन् ।
उडान नहँुदा नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमिकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु पनि सिमिकोटमै रोकिएका छन् । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन । रासस
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend