शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

वायु प्रदूषणको मुख्य कारण सवारीसाधन, प्रदूषणका कारण लाग्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो

वायु प्रदूषणको मुख्य कारण सवारीसाधन, प्रदूषणका कारण लाग्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो

काठमाडौं । नेपालमा पछिल्लो समय वायु प्रदूषण बढ्दो छ । वायु प्रदूषणको मुख्य कारण सवारी साधनरहेको विज्ञहरुले बताउने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् एनएचआरसी अध्ययनले पनि काठमाडौं उपत्यकाको प्रदूषणको मुख्य कारण काठमाडौं उपत्यकामा बढीरहेको सवारीसाधन भएकोे देखाएको छ । महालेखा परीक्षककको सन्ताउन्नौँ वार्षिक प्रतिवेदनले पनि उपत्यकामा सवारीसाधनका कारण सबैभन्दा बढी प्रदूषण हुने देखाएको छ । हरेक ५ वर्षमा दोब्बर हुने उपत्यकाको सवारी साधनका कारण अहिले प्रदूषण बढ्दै गएको छ । सार्वजनिक यातायातको उचित व्यवस्थापन नभएको र यात्रुलाई सजिलै यात्रा गराउन नसकेका कारण नेपालमा निजी सवारी साधनको प्रयोग बढ्दै गइरहेको छ । यसका कारण दिनप्रतिदिन वायु प्रदूषण बढीरहेको छ । 

प्रदूषणको मुख्य कारण बढ्दो सवारीसाधन भए पनि सवारीसाधनको माग उपत्यकालगायत नेपालभर नै बढीरहेको छ । उपत्यकामा गएको पुस दोस्रो सातामा एअर क्वालिटी इन्डेक्स चार सयभन्दा माथि पुगेको थियो । जबकी एअर क्वालिटी इन्डेक्स तीन सय पुगेपछि विपदकाल घोषणा गर्ने भनेर मन्त्रीपरिषद्को २०७६ साल माघ तीन गतेको बैठकले कार्ययोजना पारित गरेको थियो । नेपालको संविधानमा पनि स्वच्छ सफा वातावरणमा बाँच्न पाउने मौलिक हक हुने उल्लेख छ ।

पछिल्लो समय उपत्यकामा मात्र होइन उपत्यकाबाहिरका शहरहरुमा पनि पछिल्लो समय वायुप्रदूषण उच्च देखिन थालेको छ । गएको पुस तेस्रो सातामा विराटनगरमा पनि वायु प्रदूषण उच्च भएको एयर क्वालिटी इन्डेक्सले देखाएको थियो । यो बाहेक नेपालमा विभिन्न शहरुहरुमा पनि वायु प्रदूषण बढीरहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार २०७५/७६ मा नेपालभर ३५ लाख ३९ हजार ५१९ सवारी साधन दर्ता भएकोमा वागमती अञ्चलमा मात्र १२ लाख ८१ हजार २३१ दर्ता भएका छन् । ७६/७७ मा यो संख्यामा उल्लेख्य मात्रामा वृद्धि भइरहेको अनुमान गरिएको छ । वातावरण विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा ०७४/७५ मा उपत्यकामा १ हजार ३७४ सवारीसाधनमा गररएको सवारी प्रदूषण जााँचमा ५४ प्रतिशत असल भएका र २४ प्रतिशत सवारी साधनमा हरियो स्टिकर टाँस नभएको पाइएको थियो । उपत्यकाको वायु प्रदूषणको मुख्य कारण सवारी साधन भएको विज्ञहरुले बताइरहँदा तथा विभिन्न अध्ययन प्रतिवेदनमा उल्ल्लेख भइरहँदा पनि नेपालमा विद्युतीय सवारीसाधनले इन्धनबाट चल्ने सवारीसाधन प्रतिस्थापन गरेको छैन ।

नेपालमा बेलाबेलामा विद्युतीय सवारी साधनको चर्चा चले पनि चार्जिङ स्टेशन नबन्दा÷बनाउँन नसक्दा विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरु देखिएका छैनन् । सरकारले सन् २०१७ बाटै सवारीसाधनहरुमा युरो ५ मापदण्ड लागू गर्ने, २०१८ बाट काठमाडौं उपत्यका यातायात व्यवस्थापन प्राधिकरण स्थापना गर्ने कार्ययोजनाहरु तयार गरे पनि कार्यान्वयन भने भएको छैन ।

उपत्यकाको प्रदूषण न्यूनीकरणका लागि २०७६ असार २९ गतेको मन्त्रीपरिषद्को बैठकले तीन सय विद्युतीय बस खरीद गर्नका लागि साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ उपलब्ध गराए पनि बस खरिद नगरी उक्त रकम फिर्ता भएको छ । सरकारले नेपालमा बिजुली बस भित्र्याउने र प्रदूषण नियन्त्रण गर्नेतर्फ खासै ध्यान दिएको छैन । 

दुई वर्षअघि नै साझा यातायातको नयाँ सवारी साधन उद्घाटन गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० भित्र नेपालका कुल सवारीमध्ये २० प्रतिशत विद्युतीय हुने घोषणा गरेका थिए । तर नयाँ आर्थिक ऐनले विद्युतीय सवारीसाधनमा लगाएको करका कारण नेपालमा विद्युतीय सवारी भित्रने सम्भावना कम देखिएको छ ।

वायु प्रदूषणका कारण लाग्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो

नेपालमा विगत केही वर्षयता वायु प्रदूषणका कारण लाग्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो मात्रामा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेपाल स्वास्थ्य अनुसन्धान काउन्सिलले सन् २०१७ मा गरेको एक अध्ययन अनुसन्धान अनुसार नेपालमा वायु प्रदूषणका कारण लाग्ने रोगबाट सन् १९९० को तुलनामा अत्याधिक मात्रामा बढेको छ ।

वायु प्रदूषणका कारण खोकी, दम, निमोनिया, छालाको रोग, आँखाको रोग, नाक कान घाँटीको समस्या, श्वासप्रश्वाससँग सम्बन्धित समस्या, टाउको दुख्ने, रिंगटा लाग्ने, असन्तुलन हुने, क्यान्सरजस्ता समस्या सिर्जित हुन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend