२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सामूहिक कागती खेती, डेढ करोड लगानी

आइतवार , माघ १३, २०८१

ढोरपाटन । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् ।

बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागतीखेती फस्टाउन थालेको छ ।

कागतीखेती गर्न एक करोड ५० लाख रुपैयाँ भन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए । गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ । यस वर्ष झण्डै पाँच लाख रुपैयाँको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए ।

कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले छ लाख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख रुपैयाँ अनुदान दिएको थियो । किसानले झण्डै एक करोड ३० लाख रुपैयाँ लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती सुरु गरेको उनको भनाइ छ ।

अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन् । गाउँमा बाँदर आतंक बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो । कागतीखेती गरेपछि बाँदर आतंक केही कम भएको छ । बर्सेनि उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ । यस वर्ष पाँच लाख रुपैयाँको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए । विसं २०७९ मा चक्लाबन्दीका लागि रु १० लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए ।

प्रमुख पौडेलले भने, 'अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ । विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले विस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन् ।'

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट