काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको 'चेम्बर एक्स्पो २०२५' काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित आठौं नेपाल एक्स्पो यहि माघ १७ देखि २१ गते ५ दिन सम्म सञ्चालन हुने भएको हो ।
चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले व्यापार मेला गर्न लागेको हो।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।
विगतमा झैँ यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटो मोबाईल, इलेक्ट्रोनिक्स, होम एप्लायन्स, लोजिस्टीक्स, फर्निचर, गार्मेन्ट, लेदर, फुड एण्ड डेरी प्रोडक्ट आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरुका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउने छन ।
स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिने छन । पाँच दिन सम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए ।
प्रतिक्रिया दिनुहोस