काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ बाट वडा नं ५ माझखण्ड जोड्ने केबुलकार निर्माण सुरु भएको छ । केबुलकारको लम्बाइ दुई दशमलव आठ किलोमिटर रहनेछ । डेस्टिनेशन माझखण्डले एक अर्ब २० करोड रुपैयाँ लगानीमा केबुलकारका साथै होटल, फनपार्क सञ्चालनमा ल्याउने भएको छ । आगामी एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।
माझखण्ड पर्यटन परियोजनाअन्तर्गत डेस्टिनेशन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केबुलकार शिलान्यास प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले गरेका छन् । डेस्टिनेसनका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताएका छन् ।
केबुलकारको टप स्टेशन माझखण्ड १ हजार ७ सय मिटर उचाइमा रहेको छ । जहाँबाट हिमाल, पहाड र तराईको वीरगञ्जसम्मका दृश्य एकैसाथ अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
केबुलकारको एउटा खण्डमा ६ सीट मात्रै हुने गरेकोमा ललितपुमा बन्न लागेको केबुलकारमा ३५ सीट क्षमताको हुनेछ । केबुलकारको सुरु र अन्त्यको स्टेशनमा मात्रै पोल हुने कम्पनीले जनाएको छ । बीचमा पोल नहुने गरि केबुलकार संरचना बनाइन लागिएको हो ।

काठमाडौंबाट हेटौंडा जाने कान्तिलोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा ५ मिनेटमा पूरा हुने कम्पनीका अध्यक्ष सञ्जेलले बताए। सातदोबाटोबाट २६ किलोमिटर दूरीमा रहेको छापेलीबाट केबुलकार सुरु हुन्छ ।
केबुलकार पार्किङसहित तल्लो स्टेशनका लागि आवश्यक १० रोपनी, माथिल्लो स्टेशनका लागि पाँच रोपनी, दुईतारे होटलका लागि २० रोपनी तथा रेस्टुराँ र फनपार्कका लागि १० रोपनी गरी ४५ रोपनी जग्गा कम्पनीले खरीद गरिसकेको अध्यक्ष सञ्जेलले जानकारी दिए।
केबुलकार परियोजनाको शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन् । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए । राणाले उक्त योजनालाई बुद्धिमताकासाथ अगाडि बढाउन सुझाव दिए । उनले यसक्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताए ।
“पर्यटनमा यहाँको सम्भावना प्रवल छ, सबै राजनीतिक दल, जनप्रतिनिधि प्रतिबद्धता भएर व्यावसायिक रुपमा बजारीकरण गर्नुपर्छ”, उनले भने ।
अर्को वर्षसम्म कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने बताउँदै यहाँका सात वटा पहिरोको जोखिम न्यूनिकरण गर्न जाइकालगायतको सक्रियतामा सर्भे भइरहेको जानकारी दिए । बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको उक्त योजनाको पूर्ण सफलताको कामना गरेका थिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुःख र अल्झनहरु आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँको मुहार फेर्नमा महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस