logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    काँक्रोको बीउ बिक्री गरेर फलेवासका किसानले कमाए छ करोड 

    काँक्रोको बीउ बिक्री गरेर फलेवासका किसानले कमाए छ करोड 

    546
    Shares
    काँक्रोको बीउ बिक्री गरेर फलेवासका किसानले कमाए छ करोड 

    पर्वत । जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड रुपैयाँ आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष छ करोड ३० लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

    स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् ।

    प्रतिकिलो १० हजार रुपैयाँका दरले बिक्री गर्दा उक्त रकम भित्र्याउन सफल भएको कृषक बाबुराम भुसालले जानकारी दिए । उनका अनुसार गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो । गत वर्ष सात करोड रुपैयाँ आम्दानी भएको थियो । उनका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् ।

    समूह गठन भएको सुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बीउ उत्पादन भएको कृषक भुसालले जानकारी दिए । सुरुआतमा आठ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर १० हजार रुपैयाँमा बिक्री गर्दै आएका उनले उल्लेख गरे ।

    केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बीउ उत्पादन हुँदै आएको थियो । काँक्राको बीउबाट मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि यसको मात्र व्यावसायिक उत्पादनमा गर्न थालिएको भुसालले बताए । उनका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् ।

    प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम पाँच लाखदेखि १८ लाख रुपैयाँसम्म बीउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिए । यस वर्ष आफूले एक क्विन्टल काँक्राको बीउ बिक्री गरी १२ लाख रुपैयाँ आम्दानी गरेको उनको भनाइ छ ।

    पौडेलले दुःख गरेअनुसारको प्रतिफल बीउ उत्पादनबाट हुने गरेकामा खुसी हुँदै भने, “काँक्राको बीउ नगदेँ बाली हो । गाउँबाटै बिक्री गर्न पाइएको छ । बीउ उत्पादनसँगै हिउँदे आलुखेती गर्न र पोखरेली जेठो बुढो धान पनि लगाउन पाइएको छ ।” उनका अनुसार पहिले मकैखेती गर्ने बारीमा यहाँका कृषकले व्यावसायिक काँक्रो खेती गर्दै आएका हुन् ।

    कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बीउलाई असारसम्ममा बिक्री गर्दै आएका छन् । यहाँ उत्पादित अधिकांश बीउ काठमाडौँको कालीमाटी बजारका व्यापारीहरूले खरिद गर्दैै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका–७ धाइरिङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन हुँदै आएको जानकारी दिए । उनले उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ भन्दै व्यावसायिक कृषकलाई केन्द्रबाट विभिन्न अनुदान र प्राविधिक सहयोग गर्ने गरिएको बताए । पर्वतको धाइरिङका कृषकले बीउ बिक्री गरी यसवर्ष चार करोड रुपैयाँ भित्र्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend