काठमाडौँ । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको हो ।
जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले गर्दा विश्व बजारमा सुनको भाउ उकालो लागेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको नीतिले विश्वमा सुनको भाउ उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । क्यानाडा, मेक्सिको र चीनलगायत मुलकलाई भन्सार दर बढाउने घोषणा गरेपछि यसको असर सुन बजारमा परेको उनको भनाई छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस