आज ६८ औं विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् १९५४ देखि विश्वभर मनाउन थालिएको कुष्ठरोग दिवसका अवसरमा सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ । कुष्ठरोग के हो र यसका लक्षणबारे आज हामी चर्चा गर्छौँ ।
यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । सबैभन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सबैले बुझ्नु र सोही अनुसार उपचारको खोजि गर्नु अत्यन्त आवश्यक छ।
लक्षण
– शरीरको कुनै भागमा छुँदा थाहा नहुने,
– फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु
– अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु,
– छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु
– स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु
उपचार विधि
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ।
विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारको लक्ष्यबमोजिक सन २०१० मा नेपालबाट कुष्ठरोग निवारण गर्ने भनिए पनि तराईका केही जिल्लामा कुष्ठरोग चुनौतीका रुपमा रहेको छ । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ ।