logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • वर्षात् नहुँदा हिउँदेबाली उत्पादन प्रभावित

    वर्षात् नहुँदा हिउँदेबाली उत्पादन प्रभावित

    4.2K
    Shares

    दाङ । लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमि बाँझै रहेका छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ ।

    दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षात् हुन सकेको छैन । पानी नपरेपछि खेतबारी बाँझै रहेको घोराही उपमहानगरपालिका–९ का किसान जगमती चौधरी बताउछिन् ।

    तोरीबाली भित्र्याएपछि खेतबारीमा छरेका कुनै पनि बाली सप्रन सकेको छैन । अघिल्ला वर्षमा मुसुरो, केराउ, चना, गहुँ जौँ फल्ने खेतबारी यसपालि पानी नपरेका कारण उब्जनी नहुने चौधरी बताउछिन् । घोराही–११ का किसान रेशम बस्नेत आकासेपानीको भरमा हिउँदेखेती गरिंदै आएकामा यस वर्ष समयमा वर्षात् नहुँदा लगाएको बाली पनि विस्तारै सुक्न थालेको बताउछन् । ‘‘जमीन बाँझै छ । गहुँ, मसुरो, केराउ र जौको बीउ पनि नआउने अवस्था भएको छ । यसपालि बाली लगाएको सबै खेर जाने अवस्था छ’, उनले भने ।

    दाङमा खेतीयोग्य जमीनमा सिँचाइको सुविधा नुहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपालि हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । दाङ जिल्लाको कूल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमीनमध्ये खेतीयोग्य जमीन ६९ हजार ९५० हेक्टर रहेको छ । दाङमा कूल खेती गरिएको जमीन ६५ हजार ९८० हेक्टरमा खेती गरिएको छ । 

    जिल्लामा बाह्रैमहिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ । हिउँदको समयमा पानी नपरेको हुँदा बाली उब्जनी नहुने र बाँझै रहने सङ्केत देखिएको छ । 

    पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहँुदा यसपटक हिउँदेबाली गहुँ, जौ र मसुरोको उत्पादनमा कमी आउने प्रमुख धिताल बताउनुहुन्छ । हिँउदे वर्षा बालीनालीका लागि अमृत समान हुन्छ । उहाँका अनुसार हिउँदमा वर्षात् नभएका कारण अन्नबालीलाई क्षति पुर्‍याउने देखिन्छ । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend