काठमाडौं । संवैधानिक परिषदको सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका सभामुख अग्नि सापकोटाले राज्य संयन्त्रका नेतृत्वबाटै शृङ्खलाबद्ध रुपमा संविधानको उल्लङ्घन भइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सापकोटाले भनेका छन्, ‘शृङ्खलाबद्ध रुपमा संविधानको उल्लङ्घन भएपछि म यस संविधानको रक्षार्थ संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार रहेको सर्वोच्च अदालत पुगेको छु ।’
१९ पृष्ठ लामो निवेदनमा निवेदक सापकोटाले उक्त नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न मागसमेत गरेका छन् ।