मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

‘लगानी स्वीकृति नपाउँदा टेलिकम सेवा विस्तार रोकियो, फाइभजीमा धेरै पछि परेका छौँ’

‘लगानी स्वीकृति नपाउँदा टेलिकम सेवा विस्तार रोकियो, फाइभजीमा धेरै पछि परेका छौँ’

– जाब्बोर कायुमोभ, सिइओ एनसेल 

नेपालमा कति प्रतिशत मोबाइल प्रयोगकर्ताहरूले नियमित रूपमा मोबाइल डेटा प्रयोग गर्छन् होला ? २० प्रतिशत नेपालीहरूले नियमित रूपमा मोबाइल डेटा प्रयोग गर्छन् भन्ने तथ्याँकले देखाएको छ । अहिले हामी सन् २०२५ मा छौँ, तर अझै पनि १० मध्ये २ जना मात्र मोबाइल डेटा चलाउँछन् ।

फोरजी नेटवर्क ९० प्रतिशत जनसङ्ख्यालाई कभर गर्ने अवस्थासम्म आइपुगेको भए पनि, अझै धेरैले मोबाइल डेटा अफ राख्ने गरेका छन् ।

नेपालको डिजिटल भविष्य निर्माण गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका टेलिकम उद्योगले खेल्न सक्ने देखिएको छ र खेलिरहेको पनि छ । यसलाई नेपालको डिजिटल भविष्यको मेरुदण्ड ठान्नुपर्ने हुन्छ । किनभने यो देशको भविष्यका लागि अत्यन्त महत्वपूर्ण छ ।

५ वर्षयता वर्षमा नेपाल र भारतको टेलिकम तथा फिक्स्ड लाइन उद्योगको वृद्धिदर हेर्ने हो भने नेपालको अवस्था ५ प्रतिशत प्रतिशत ऋणात्मक अवस्थामा गएको छ । जब कि हाम्रो छिमेकी देश भारतले १०० प्रतिशत अर्थात् दुई गुणा वृद्धि गरेको छ ।

नेपालका मोबाइल सेवा प्रदायकहरूको कुल आम्दानीको ५० प्रतिशत कर तथा अन्य शुल्कको रूपमा सरकारलाई जाने गरेको छ । फाइभजीमा हामी धेरै नै पछाडि परिसक्यौँ । नेपालमा फाइभजी कभरेज शून्य प्रतिशत छ, जबकि छिमेकी भारतमा ९० प्रतिशत पुगिसकेको छ । यो टाढाको विकसित देश अमेरिकाको कुरा नभएर, छेउमै रहेको छिमेकी मुलुकको हो । हामीले यस्ता संवेदनशील विषयमा छलफल गरिरहने मात्र होइन, अब केही गर्नुपर्ने बेला हो ।

हामी कुरा त जहिले पनि गर्न सक्छौँ, तर काम गर्न सुरु गर्न भने ढिलाई गर्नु हुन्न । यदि हामी साँच्चिकै भविष्यलाई सम्बोधन गर्न, समस्या समाधान गर्न र हामी सबैलाई गर्व लाग्ने परिणाम ल्याउन चाहन्छौँ भने, केही गर्नैपर्छ ।

सरकार दूरसञ्चार विधेयकको तयारीमा छ । त्यसलाई लगानीमैत्री बनाउनुपर्ने हुन्छ । उद्योग दिगो रहोस् र सबै प्रतिस्पर्धीहरूलाई समान व्यवहार होस् । मेरो जानकारीमा आएअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले विगतमा पाँच भन्दा बढी पटक विधेयक मस्यौदा सिफारिस गरिसकेको छ । तर अझै पारित भने भएको छैन ।

हामीले दूरसञ्चार ऐन परिमार्जन गर्न र समयानुकूल बनाउन आवश्यक छ । एकीकृत लाइसेन्स हुने र त्यसमा सबै कुरा समेटिने प्रावधानको हामी स्वागत गर्छौँ । पूर्वाधार कम्पनी र निष्क्रिय पूर्वाधार सेयरिङ पनि हुनुपर्छ । किनकि आजकल जहाँ प्रतिफल चुनौतीपूर्ण छ, त्यहाँ हामीहरूले मिलेर उपभोक्ता र देशको हितमा काम गर्नैपर्छ ।

हरेक प्रतिस्पर्धीहरूलाई समान नियमहरू लागु भएको महसुस होस्, ताकि उनीहरूले आफ्नो उत्कृष्ट नतिजा दिन सकून् । साधारण सेयर (आइपिओ) को आवश्यकताहरूको सन्दर्भमा, टेलिकमले राष्ट्रलाई सेवा पुर्‍याउँदा त्यसमा जनताको पनि सहभागिता वा भनौँ हिस्सेदारी हुनु आवश्यक छ ।

त्यसैले, एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का हैसियतले म यसमा पूर्णतः खुला छु र यस किसिमको आवश्यकतालाई स्वागत गर्छु । विदेशी लगानी सम्बन्धी प्रावधानको कुरा गर्दा, यसले विदेशी लगानीलाई प्रोत्साहित गर्नुपर्छ । टेलिकम र आईटी जस्ता अत्याधुनिक प्रविधिमा आधारित क्षेत्रहरूमा नेपाल पूर्ण रूपमा विदेशी लगानी वा विदेशी सहभागिता उपेक्षा गर्न सक्दैन भन्ने लाग्छ ।

यी सबै कुराहरूमा सुधारका सम्भावनाहरू छन् र हामीले अझै धेरै सुधार गर्न सक्छौँ भन्ने मेरो विचार छ । स्पष्ट रूपमा सबै टेलिकम र सम्बन्धित सेवाहरूलाई एकीकृत लाइसेन्समार्फत एउटै नियमन प्रणाली अन्तर्गत समेट्नुपर्छ । हाम्रो सीप र ज्ञान प्रयोग गरेर हामी मूल्य अभिवृद्धि गर्न चाहन्छौँ । तर थुप्रै प्रतिबन्धहरूले टेलिकम कम्पनीहरूलाई आफ्नो क्षमता पूर्ण रूपमा उपयोग गर्न दिइरहेका छैनन् ।

विदेशी लगानीको सन्दर्भमा यहाँ थुप्रै विरोधाभासहरू छन्, जसले विदेशी लगानीकर्ताहरूलाई आकर्षक लगानी गन्तव्यको रूपमा हेर्नबाट रोकिरहेको छ । लगानी बिना नेपालको विकास गर्न सकिँदैन कुरा हामी सबैले बुझेकै छौँ ।

भारत लगायत छिमेकी मुलुकहरू लगानी भित्र्याउन एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । र, यहाँ प्राकृतिक सौन्दर्य र अन्य लाभका विभिन्न क्षेत्रहरू छन् । जसले गर्दा नेपाल लगानी भित्र्याउने अवसर र प्रतिस्पर्धाबाट टाढा बस्नु हुँदैन ।

मोबाइल सेवाको लाइसेन्स नवीकरण प्रक्रियाको कुरा गर्दा, यो अहिले निकै ठुलो मुद्धा बनेको छ । यो प्रक्रियालाई सरल बनाउनुका साथै र दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्नुपर्छ । एनसेलका लागि यो विशेष रूपमा महत्त्वपूर्ण छ । किनकि यो विषय अहिले त्यति गरम नलाग्न सक्छ, तर अबको ५ वा ३ वर्षपछि यसको प्रभाव स्पष्ट देखिनेछ ।

उदाहरणको रूपमा, यदी कसैले २० वर्षसम्म एउटा घर बनाउनुहुन्छ, उत्कृष्ट र सुन्दर बनायो । तर ५ वर्षपछि त्यो घर तपाईँको नहुने हो भने, तपाईँ के गर्नुहुन्छ ? के तपाईँ लगानी जारी राख्नु हुन्छ ? के तपाईँ अझै त्यो घरको हेरचाह गर्नुहुन्छ ? यी आधारभूत प्रश्नहरू हुन्, जसको समाधान नगरेको खण्डमा विकासमा अवरोध आउनेछ । यो मामिलामा सबै जना जिम्मेवार बन्नेमा म विश्वास गर्छु र नियामक अगाडि बढेर लगानीकर्ताहरूलाई आगामी उपायको बारेमा स्पष्टता ल्याउने कुराको आशा गर्छु ।

सेयर बिक्री र स्वामित्व हस्तान्तरण पनि विगत सात वर्षदेखि पुनः तातो विषय बनेको छ । एनसेल यसमा प्रत्यक्ष रूपमा संलग्न नभए पनि अफशोर कारोबारहरूको पूर्वस्वीकृति लिन गाह्रो भइरहेको छ । यस किसिमको व्यवस्थाले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्दैन । कहिलेकाहीँ म एनसेलको सिइओको रूपमा पनि यो कम्पनी खरिद बिक्रीको विषय हो कि होइन भन्ने कुरामा स्पष्ट हुन मुस्किल परिरहेको हुन्छ ।

विदेशी विनिमय र सुविधा सम्बन्धी नियामकीय स्वीकृतिका प्रक्रियाहरू पनि यति जटिल छन् कि व्यवसायलाई सहज रूपमा सञ्चालन गर्न असम्भव छ । उदाहरणका लागि गत १२ महिनामा हामीले ५ करोड डलर (करिब ७ अर्ब रुपैयाँ) लगानी गर्न चाहिरहेका थियौँ । तर त्यसको स्वीकृति अझै बाँकी छ ।

साथै, विदेशी मुद्राको स्वीकृति नभएका कारण हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूलाई आवश्यक ब्यान्डविथको भुक्तानी दिन सकिरहेका छैनौँ । आईएसपी क्षेत्रले पनि यही समस्या भोगिरहेको छ । यी सबै कुराहरूले न त उद्योगलाई सहयोग पुर्‍याउँछन्, न त राष्ट्रलाई ।

यो केवल निजी लगानीकर्ताको स्वार्थको कुरा होइन, यो त देशभरका सबै नेपालीलाई सेवा पुर्‍याउने व्यवसाय सञ्चालनको आधारभूत आवश्यकतासँग जोडिएको कुरा हो । टेलिकम व्यवसाय हो भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर यो यस्तो एक मात्र उद्योग हो, जसले देशको महँगाइ र आर्थिक विकास अनुसार ट्यारिफ समायोजन गर्न पाउँदैन ।

मुद्रास्फीतिका कारण बिजुली, अन्य सेवाहरू र दैनिक आवश्यकताका सामानको मूल्य बढेको छ । तर हामीलाई त्यस्तोमा केही गर्न सक्ने अनुमति नै छैन, जसले कर पश्चात्‌को नाफामा प्रभाव पारिरहेको छ । त्यसले पुनः लगानी गर्ने अवसर पनि घटाइरहेको छ । यदि पुनः लगानी सुनिश्चित भएन भने भविष्यमा ठुलो समस्या निम्तिने छ । मलाई व्यक्तिगत रूपमा यो देखेर आश्चर्य लागेको छ कि नयाँ दूरसञ्चार विधेयकमा कम्पनी वा संगठित संस्थासँग जोडेर आपराधिक दायित्वको प्रावधान समावेश गरिएको छ, जसले व्यवस्थापक र शीर्ष व्यवस्थापकहरूलाई असुरक्षित महसुस गराइरहेको छ ।

म यसरी बुझिरहेको छु कि यो प्रावधानले कम्पनीको शीर्ष व्यवस्थापनलाई उनीहरूले थाहा नपाएका वा संलग्न नभएका कुनै अवैध कार्यका लागि जिम्मेवार ठहर्‍याउनेछ । आशा गरौँ कि यो विधेयक हाम्रो असल मनसाय र उद्देश्यका साथ गर्ने काममा बाधा नपुर्‍याउने हिसाबले आउनेछ । यसमा आवश्यक परेको खण्डमा थप संवादका लागि हामी सदैव तत्पर छौँ ।

कति ग्राहकहरूले टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भन्ने सवालमा मलाई लाग्दैन कि यी सबै विद्यमान पुरानो दूरसञ्चार ऐनका परिणाम हुन । पुरानो कानुनलाई मात्र सम्पूर्ण असफलताको लागि दोष दिन मिल्दैन । यहाँनिर म कसैलाई दोषारोपण गर्दैछु भन्ने पनि होइन ।

हामी यस उद्योगको सबैभन्दा ठुलो खेलाडी हौँ । हामी यो उद्योगलाई सुधार्न चाहन्छौँ । हामी चाहन्छौँ कि हाम्रा सबै नेताहरूसमेत नेपाल र हाम्रो टेलिकम उद्योगमा गर्व महसुस गर्न सकून् । यसका लागि नयाँ, प्रगतिशील र सबै नवप्रवर्तनहरूलाई स्वागत गर्ने दूरसञ्चार ऐन हुनु आवश्यक छ । तर मलाई लाग्छ कि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो निर्णय क्षमता र नेतृत्व कौशल हो, जसले वास्तविक परिवर्तन ल्याउन सक्छ ।

हामी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग निकट रूपमा काम गरिरहेका छौँ । मन्त्री ज्यू, माननीय सचिव ज्यू, दूरसञ्चार प्राधिकरण अध्यक्ष र उद्योगका सबै नेतृत्वदायी स्थानमा भएकाहरू प्रतिस्पर्धीहरूसहित सँग धेरै बैठक भएका छन्, जसबाट विकासको बाटो पहिल्याउने उपायहरू खोज्दैछौँ ।

दूरसञ्चार ऐनलाई लिएर कुनै निर्णय नभए पनि, हामी विद्यमान नियम कानुनको परिधि भित्रै के गर्न सक्छौँ भनेर पनि विचार गर्दै तपाईँहरूलाई उत्कृष्ट सेवा उपलब्ध गराउन र हामी सबैले गर्व गर्न सक्ने कार्य गर्न तत्पर छौँ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend