मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

‘सरकारसँग पैसा छैन भने राष्ट्र बैंकबाट ओभरड्राफ्ट लिएर ठूला आयोजनामा दिनुपर्छ’ (अन्तर्वार्ता)

‘सरकारसँग पैसा छैन भने राष्ट्र बैंकबाट ओभरड्राफ्ट लिएर ठूला आयोजनामा दिनुपर्छ’ (अन्तर्वार्ता)

अहिले अर्थतन्त्र सुस्त गतिमा भएका बेला व्यवसायीलाई उद्धार गर्ने बैंकहरु पनि समस्यामा परेका छन् । ऋण असूली हुुन नसकेको र नयाँ कर्जा प्रवाह कम हुँदा बैंकहरुको खराब कर्जा अनुपात बढेको छ । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सुरु भइसकेको छ ।

आगामी चैत अन्तिमसम्म केन्द्रीय बैंकले नयाँ गभर्नर पाउँदै छ । सरकारले आर्थिक सुधारका लागि लिनुपर्ने नीति र गभर्नर नियुक्तिका विषयमा केन्द्रीत रहेर पूर्वगभर्नर डा. चिरन्जिवि नेपालसँग सुनौलो नेपालले गरेको कुराकानी ।

अर्थतन्त्र कमजोर हुँदा आमनागरिकमा नैराश्यता देखिएको छ । अर्थतन्त्र कसरी यो अवस्थामा आयो र अहिले देखिएको संकट कहिलेसम्म रहला ?

यो समस्या कोभिडपछि देखिएको हो । यद्यपी कोभिडपछि समस्यामा परेका अन्य देशहरु तङ्ग्रिसके, हामीलाई मात्र समय लागिरहेको छ । विस्तारै अत्यन्त सुक्ष्म रुपमा हामी तङ्ग्रिराखेका छौँ । त्यसकारण कहिले हुन्छ भन्दा पनि आन्तरिक रुपमा अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको तर्फबाट आर्थिक क्रियाकलाप बढाउनु पर्छ । निजी क्षेत्रले सरकारलाई हेर्छ, किनभने खर्च गर्ने सरकार हो ।

सरकारको नीति नियम हेर्छ, सरकारको स्थायित्व हेर्छ र ल्याउने नीतिहरुको प्रभाव पनि हेर्छ । त्यसपछि ७५–८० प्रतिशत लगानी निजी क्षेत्रबाट आउने हो । त्यसकारण हाम्रो तथ्यांकअनुसार सरकारको दायित्व २०–२२ प्रतिशत हुन्छ । तर, निजी क्षेत्रको सहभागिता ७५–८० प्रतिशतभन्दा पनि बढी छ । यता सरकारले पुँजीगत खर्च गर्न सकेको छैन ।

पछिल्लो समय राजस्व पनि कम उठिरहेको अवस्था छ । अहिले अलिकता राजस्व उठ्ने क्रम थोरै बढेको छ । सरकारको अर्धवार्षिक समीक्षामा १३ प्रतिशत राजस्व उठेको देखिएको छ । दशकौँदेखि सरकारले बजेटको आकार घटाउनै परेको छ । यो क्रमलाई हेर्दा के देखिन्छ भने पुँजीगत खर्चमा अत्यन्तै सुस्तता, आन्तरिक अर्थतन्त्र चलायमान नहुनु, बाहिरी क्षेत्र मजबुत हुँदा पनि फरक पर्दो रहेनछ । आन्तरिक रुपमा आमनागरिक र लगानीकर्ताको आत्मविश्वास नबढ्दासम्म अर्थतन्त्र अगाडि बढ्न सक्ने स्थिति देखिँदैन ।

अर्थतन्त्र मौद्रिक पासोमा पर्यो, यसलाई वित्त नीतिले फुकाउनु पर्छ भन्ने कतिपयको भनाइ छ । त्यसको लागि सरकार तयार भएको देखिँदैन नि ?

पासोमा पर्ने भन्ने हुँदैन । कोभिडमा सरकारले गर्नुपर्ने काम केन्द्रीय बैंकले गर्यो । संसारभर सरकारले उद्धार गर्ने, पैसा बाँड्ने सबै गरेको थियो । अमेरिका र युरोपमा व्यक्तिको खाता खातामा पैसा पठाइएको थियो ताकि खर्च गरुन् र अर्थतन्त्र चलायमान होस भनेर । नेपालमा सरकारले त्यतातिर त्यति ध्यान दिएन । केन्द्रीय बैंकले ब्याजदर कम गराएर, पुनर्कर्जा बढी बजारमा पठाएर त्यसबेला राहत दिन खोज्यो ।

पेनाल ब्याज नलगाएर, ऋण लिएकालाई समयावधि बढाइदिएर, जोखिम कम गराइदिएर धेरै कुरामा केन्द्रीय बैंकले व्यवसायदेखि आन्तरिक रुपमा सहज गराइदियो । तर, सहज भइसक्ने स्थितिमा पनि जब कोभिड सकियो, त्यसपछि कोभिडमा लिइएको नीति पछि निरन्तरता दिन हुँदैनथ्यो । त्यो काम सरकारले गर्नुपर्नेमा सरकारबाट हुन नसकेर राष्ट्र बैंकले गर्यो ।

राष्ट्र बैंकले कोभिडपछि पनि अप्ठ्यारो बेलामा अपनाइएको नीतिलाई लागू गरिदियो । राजनीतिक दबाव, व्यापारिक दबावले गर्र्दा उसले लिएको नीतिबाट केन्द्रीय बैंक पछि हट्न सकेन । यसको फलस्वरुप बजारमा पैसा प्रशस्त भयो । सस्तो ब्याजमा पैसा पाइसकेपछि रेगुलेट राम्रोसँग हुन सकेन । बैंक तथा वित्तिय संस्थाले आफैँ पैसा राख्दैन । उनीहरुले लगानी गरिहाल्छ ।

जसले गर्दा त्यतिबेला लगानी अत्यधिक र गलत ठाउँमा पनि भएको भन्ने छ । जसले गर्दा स्थिति सामान्य हुन अप्ठ्यारो भयो । कसरी भने, दुई वर्ष सहजता गर्दिने वित्तिकै कडा गरिदियो । बजारमा पैसा नै सकियो । सस्तो ब्याजको पैसा मान्छेले यसरी प्रयोग गरे कि बैंकमा पैसा भएन । पैसा लगानी गरेको ठाउँ बिक्रि हुने स्थिति भएन चाहे त्यो सेयर बजार होस् वा घरजग्गा होस् वा अन्य क्षेत्र नै किन नहोस् । त्यसले गर्दा पनि अप्ठ्यारो स्थिति सिर्जना गर्यो ।

संकटको बेलामा सरकार अग्रपङ्तिमा हुनुपर्नेमा राष्ट्र बैंक आउदा समस्या देखिएको हो ?

हो, किनभने मुलुकको कुनै पनि बृहत नीतिगत कुरा केन्द्रीय बैंकले होइन सरकारको वित्त नीतिले सम्बोधन गर्नुपर्छ । संसारभर नै यही हो ।

त्यो समयमा सरकारमा किन त्यस्तो सोच आएन ?

त्यो त भगवान जाने । भारत सरकारले कुल ग्राहस्र्थ उत्पादन ( जिडिपी) को १० प्रतिशत कोभिडमा खर्च गर्ने नीति लिएको थियो । नेपालमा सरकारले केही नगरेको होइन, गर्यो तर त्यतिले पुगेन । नपुगेपछि केन्द्रीय बैंकले उदार भएर भूकम्पमा लिइएको नीतिगत कुरालाई कोभिडमा निरन्तरता दियो । कस्तो भयो भने ७ अर्ब पुनर्कर्जा बढेर ४९ अर्ब रुपैयाँ पुग्यो ।

पछि बढाएर १ खर्ब ५९ अर्ब रुपैयाँ भयो । सरकारले सहुलियतपुर्ण दिएको ब्याजको पनि तीन सय अर्ब बजारमा मज्जाले गएको छ । सस्तो पैसा भइसकेपछि नचाहेको ठाउँ र वस्तु खरिदमा लगानी भयो र फिर्ता हुने ठाउँ भएन । त्यो ठाउँ हेर्नका लागि बैंक वित्तिय संस्था सजक हुनुपर्ने हो । त्यतिबेला केन्द्रीय बैंकले अझै सशक्त भएर गर्नुपर्ने थियो ।

हामीले भन्नैपर्छ, कोभिडमा केन्द्रीय बैंकको सुपरिवेक्षणमा ढिला भएकै हो । जसले गर्दा बैंक वित्तिय संस्थाले यसलाई ट्रयाक गर्न सकेनन् र अहिलेसम्मको असहज स्थितिको कारण त्यहि हो । पछि विदेशी मुद्रा सञ्चिती कम हुने स्थिति, जसले गर्दा आयात गर्न गाह्रो, सात महिना वस्तु र सेवा आयात धान्न सक्ने सञ्चिती हुँदा देखि नै त्यो नीति ल्याएपछि झनै अनौपचारिक क्षेत्रको अर्थतन्त्र बढ्यो ।

हामीले नपाउने स्थितिमा पनि सामान बजारमा पाइराखेका छौं किनकी खुला सिमाना छ । त्यसले गर्दा यता नियन्त्रण पनि गर्न सकिएन तर भयङ्कर नरम नीति ल्याइयो अनि भयङ्कर कडा नीति ल्याइयो । जसले गर्दा अहिले नरम नीति ल्याउँदा पनि कडा नीतिको असरले आम नागरिकमा आत्मविश्वास बढ्न सकेन र अर्थतन्त्र तङग्रिन गाह्रो भयो ।

अहिले पैसा घरजग्गामा जाम भएको छ र यसले अर्थतन्त्रलाई चलायमान गराउन सहयोग गरेन भन्ने कुरा छ नि ?

अर्थतन्त्र छिटो चलायमान गराउने क्षेत्र सेयर बजार र घरजग्गा नै हो । संसारमा जहाँ पनि त्यहि हो । अरु उत्पादनका लागि समय लाग्छ । सामान उत्पादन हुनुपर्यो, बजार हेर्नुपर्यो, बजारमा गइसकेपछि पनि समय लाग्छ । आर्थिक उन्नतिको लागि र आर्थिक क्रियाकलाप छिटो बढाउने घरजग्गा र सेयर बजार नै प्रमुख हुन् । सेयर पनि बढ्ने बित्तिकै बेच्छन्, किन्छन्, नाफा हुन्छ अनि पैसा बजारमा आउँछ ।

घरजग्गा पनि त्यस्तै हो । सेयर बजार पनि जाम भएर बसेको छ । जबरजस्ती बढाउन खोजिए पनि सकिएको छैन र नागरिकमा आत्मविश्वास छैन । नीतिमा स्थायित्व नहुँदा मान्छेलाई विश्वास हुँदैन ।

अर्को कुरा सरकारले लिएको नीति पछि परिवर्तन हुँदैन भन्ने के ग्यारेन्टी छ ? सरकारले भूत प्रभावित कर लगाएर अर्बौ रुपैयाँ असुल गरेको होइन र ? त्यसले गर्दा झन् ससंकित भएका छन् । कुन सरकार कुन बेला आउँछ थाहा हुँदैन । एक वर्षभित्र तीन वटा सरकार आयो । पैसा चलाउने मान्छेले देश भित्रको नीति त हेर्छ । ती सबैको असर अहिले देखिएको हो ।

पहिला सहुलियत दिन राष्ट्र बैंकले झ्वाट्ट ढोका खोल्यो, पछि एकाएक चालु पुँजीकर्जा नीति ल्याएर एक्कासी ढोका बन्द गरिदिँदाको परिणाम हो यो ?

ठ्याक्कै त्यहि हो । पछिल्लो समयमा श्रीलंकाको केसले सरकार र नीति निर्माताहरु आत्तिए । श्रीलंकामा विदेशी सञ्चिती अत्यन्त छिटो सकिएर आर्थिक संकट लागू भयो । आर्थिक संकटबाट उम्किन सकेन श्रीलंका । राजनीतिक अस्थिरता भयो र आफ्नो आँखा अगाडि त्यो देखे । यता पाकिस्तानमा विदेशी मुद्रा सञ्चिती कम भएर अप्ठ्यारो स्थिति भएको सुनिरहे ।

बंगलादेशमा विदेशी मुद्रा सञ्चिती कम भएको सुनिरहे । जबकि विदेशी दातृ निकाय संस्थाहरुले तिमीहरुले यसो नगर, किन आयात रोक्छौ ? तिमीहरुलाई केही फरक पर्दैन, विस्तारै विस्तारै अघि बढ भनिरहेको थियो । किनकि, हामीकहाँ रेमिट्यान्स आइरहेको थियो । लगभग १५ महिनासम्म वस्तु र सेवा आयात गर्न सक्ने क्षमता पनि थियो । अहिले पनि इतिहासकै उच्च विदेशी मुद्रा सञ्चिती छ ।

त्यो पैसा किन खर्च भएको छैन भने मान्छेलाई विश्वास छैन, विश्वास नभएपछि केही कुरामा पनि लगानी हुन सकेको छैन । हाम्रो जस्तो देशलाई धेरै वस्तु आयात गर्नुपर्छ । त्यसका लागि डलर चाहियो । डलर चाहिने भएकोले त्यो नहुने वित्तिकै आयातको लागि गाह्रो हुन्छ । आयात नभएपछि सामानहरु अभाव हुन्छ किनकी सबै कुरा हामीले उत्पादन त गर्दैनौँ ।

त्यसैले हाम्रो जस्तो देशको लागि विदेशी सञ्चिती अत्यन्त अनिवार्य रहेकोले यिनीहरुले ढ्याप्पै ढोका लगाएको हो । जसको परिणाम अहिलेसम्म ब्यहोर्नु परेको छ । तर, अहिले सुधारोन्मुख अवस्था आइरहेको छ । यो स्थितिमा दुई वटा बलिया राजनीतिक दल साच्चै देश विकास गर्छौँ भनेर लाग्यो भने हुन्छ ।

राज्यले के गर्दा सुस्त भएको अर्थतन्त्रले गति लिन्छ ?

ओभरड्राफ्ट निकालेर भए पनि ठूला आयोजनामा खर्च गर्नुपर्छ । तपाई हामी पोखरा जाँदा घण्टौँ लाग्छ, रिसै उठ्छ । यही मुग्लिन जाँदा घण्टौँ लाग्छ । बुटवल जाँदा दुई दिन लाग्छ, सात वर्ष भयो बाटो बनेको छैन । पूर्वतिरको बाढी पहिरोले भत्काएको बाटो कहिले बन्ने हो निश्चित छैन । बुटवल र नारायणघाटको बाटो सात वर्ष अगाडि सुरु गरेको हो, अहिलेसम्म भएको छैन । यस्तो त गर्दिनु भएन नि ! यही हो विश्वास भनेको । निर्माण क्षेत्र नै सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र हो ।

३४ प्रतिशत रोजगारी सिर्जना निर्माण क्षेत्रबाट हुन्छ । तल्लो तहको ज्यामी र बाटो खन्नेदेखि ठूला ठूला सिमेन्ट, छडका उद्योग चल्ने भनेकै निर्माण क्षेत्रले हो । यो क्षेत्र अहिले ठप्प छ । जो जसको बक्यौता दिनु छ, दिनुपर्यो । सहकारीको अवस्था पनि नाजुक छ, त्यहाँ पनि सहयोग गर्दिनु पर्यो । रेस्क्यू गर्न सुरु गर्दिए हुने हो । निर्माण व्यवसायीको भुक्तानी गर्दिने हो भने त्यो पैसा बजारमा जान्थ्यो, उनीहरुले नयाँ काम सुरु गर्थे । म आफैँ पनि अचम्ममा छु, सरकारले ओभर ड्राफ्ट गरेर पैसा निकालेर काम गरे हुन्छ । आन्तरिक ऋण उठाएर निर्माण लगायतको क्षेत्रलाई अगाडि बढाउँदा के फरक पर्छ र ?

हामीसँग पर्याप्त ‘फिस्कल स्पेस’ छ, त्यो स्पेसलाई सदुपयोग गर्नुपर्यो भन्न खोज्नुभएको हो ?

भारतको जिडिपी र सार्वजनिक ऋण ८२ प्रतिशत पुगिसक्यो । हाम्रो २६ खर्ब १३ अर्ब रुपैयाँ ऋण हो । मेरो भनाई के हो भने दुई वटा मजबुत दलको सरकार छ, आँटेर अगाडि बढ्दा हुन्छ ।

अर्थतन्त्रलाई उकास्ने बैंकिङ क्षेत्र आफैँ समस्यामा परेको छ, यो कसरी हुन गयो ?

तपाईले भन्नुभएको समस्या सायद खराब कर्जा बढेको भन्ने होला । खराब कर्जा अहिले बढेको छ किनभने कोभिडको बेलामा दिएको होस् वा जहिले दिएको भए पनि ऋण उठ्न सकेको छैन । अर्थतन्त्र चलेको छैन, ऋणीले ऋण बुझाउन सकेका छैनन् । त्यसले गर्दा खराब कर्जा बढेको छ र बैंकहरुलाई गाह्रो छ । खराब कर्जा बढे पनि जोखिम बहन गर्ने क्षमता बैंकसँग छ ।

पुँजी वृद्धिले गर्दा जोखिम बहन गर्न सक्ने क्षमता पनि बढेको छ, यो बढ्दै गयो भने बैंकहरुलाई गाह्रो हुन्छ । तर, अहिलेको स्थितिमा समस्या भनेको खराब कर्जा बढ्नु हो । त्यसको लागि पनि बैंक वित्तिय संस्थाले आफूसँग जम्मा भएको पैसा आयोजनाहरु हेरेर लगानी गरेर, आफैँले नयाँ आइडिया निकालेर पनि लगानी गर्नुपर्छ जस्तो लाग्छ ।

अहिले बैंकसँग ७ खर्ब रुपैयाँ बढी लगानी गर्ने पुँजी छ, त्यो पैसा नै बाहिर जान सकेको छैन । थप लगानी नभएपछि खराब कर्जाको अनुपात बढेर गयो होइन ?

पहिलाको ब्याज र ऋणहरु उठ्न सकेको छैन । बैंकमा पैसा थुप्रिनु भनेको बैंकको लगात बढ्नु हो । किनभने बैंक त मध्यस्तकर्ता न हो, एउटासँग लिएर अर्कोलाई दिने । त्यो मध्यस्तकर्ताको खर्च बढ्यो । अर्कोमा लगानी गर्न पाएनन्, त्यहीँ थुप्रियो । करोडौँ मान्छेले बैंकमा राखेको पैसाको ब्याज घट्दा मान्छेलाई कति पीर परेको छ ! ९ प्रतिशत ब्याज पाउनेमा ४/५ प्रतिशत मात्र पाउँदा तपाई हामीलाई पीर परेको छैन ? किन यस्तो भएको छ भने उसको कष्ट बढेको हुनाले यता जनताले राखेको पैसाको निक्षेपमा ब्याजदर घटाइदिएको छ ।

ब्याजदर घट्दा लगानीकर्तालाई लगानी गर्न उत्प्रेरित हुनुपर्ने होइन र ?

लगानीकर्तालाई त उत्प्रेरित गर्नुपर्ने हो । निक्षेपकर्तालाई त बढी ब्याज पाएको राम्रो लाग्छ । जो लगानीकर्ता छ, उसको लागि राम्रो अवसर हो यो । लगानीकर्ताले किन लगानी गर्न चाहेको छैन भने उनीहरुमा विश्वास नै छैन । भोली बैंकलाई त ऋण तिर्नुपर्छ, सकेन भने कालोसूचीमा जानुहुन्छ । कालोसूचीमा अहिले पनि ८० हजार भन्दा बढी मान्छे भइसकेका छन् । आज भन्दा पाँच वर्ष अगाडि जम्मा १२ हजार थिए अहिले करिब एक लाख पुग्न लाग्यो । यो स्थितिमा व्यापार व्यवसाय चल्छ भन्ने के ग्यारेन्टी छ ?

तपाई गभर्नर हुँदा ल्याउनु भएको बैंकको पुँजी वृद्धिको नीति कत्तिको कार्यान्वयन भए जस्तो लाग्छ ?

अहिले राम्रो भएको छ, त्यहि कारणले गर्दा मलाई अहिले खुशी लागेको छ । पुँजी वृद्धि नगरिदिएको भए बैंक वित्तिय संस्थालाई दुई, तीन वर्ष अगाडि नै गाह्रो हुन्थ्यो । किनभने, पुँजी कोषले गर्दा जोखिम बहन गर्यो । पुँजी वृद्धि र मर्जरले गर्दा थोरै सहज भयो । म जाँदा १८/२० वटा बैंक तथा वित्तिय संस्था डुबेका थिए । राष्ट्र बैंकमा समस्याग्रस्त विभाग नै थियो ।

त्यो विभाग हटाइयो । डुबेका संस्थालाई विभिन्न बैंकसँग मर्जर गरेर रेस्क्यू गरियो । ती बैंकहरुको आम्दानी राम्रै छ । बैंक वित्तिय संस्थाको जोखिम बहनको क्षमता बढ्नुको मतलब निक्षेपकर्ताको पैसा डुबेन र बैंक अहिलेसम्मको स्थितिमा तन्दुरुस्त नै छ ।

अहिले गभर्नर नियुक्तिको प्रक्रिया सुरु भइसकेको छ । अर्थतन्त्र पनि समस्यामा छ । यी समस्यालाई समायोजन गरेर लान कस्तो किसिमको गभर्नर आओस् भन्ने चाहानुहुन्छ ?

अहिलेको स्थितिमा गभर्नर छनौट गर्न सरकारलाई पनि गाह्रै हुन्छ जस्तो लाग्छ । किनभने, सबैभन्दा पहिला उसले यस्तो नीति ल्याइदिनु पर्यो कि बैंकमा भएको पैसा व्यापारी, व्यवसायीले खर्च गर्न सकुन् । बैंक वित्तिय संस्थाले लगानी गर्न सकोस् । दोस्रो भनेको वित्तिय स्थायित्व हो । बैंक वित्तिय संस्था भनेको मुलुकको अर्थतन्त्रको आधार हो भन्ने देखाइदिनुपर्यो । तेस्रो कुरा, वित्त नीतिले मौद्रिक नीतिमा प्रभाव पर्छ र मौद्रिक नीतिले देशको अर्थतन्त्रलाई टेवा दिएर अगाडि बढ्छ भन्ने सन्देश दिन सक्नुपर्यो भने आन्तरिक रुपमा तल्लो भन्दा तल्लो तहको व्यक्तिलाई पनि बैंक वित्तीय संस्थाबाट ऋण लिन सहज छ र ऋण लिएपछि हामीले बुझाउनु पर्छ ।

बैंक वित्तिय संस्था भनेको हाम्रो साथी हो भन्ने सन्देश दिन सक्नुपर्छ । यी कुराहरु गर्न सक्ने खालको गभर्नर हुनुपर्यो । त्यसमा चाहे राष्ट्र बैंकबाट होस्, चाहे बाहिरबाट होस् समग्र रुपमा देशको अर्थतन्त्रलाई अन्तर्राष्ट्रियकरण र अन्तर्राष्ट्रिय स्तरमा भएको नीति नियमलाई देशभित्र सहज रुपमा लागू गर्न सक्ने क्षमता भएको हुनुपर्छ । साथै राजनीतिक तवरबाट आउने दबावलाई यो गर्न सक्दिन भन्न सक्ने खालको पनि हुनुपर्छ । दीर्घकालीन रुपमा निर्णय गर्न सक्नुपर्छ ।

कतिपय समस्या वर्तमान गभर्नरले लिएको नीतिका कारण पनि आएका हुन् ?

हैन, त्यतातिर नजाऔँ किनभने गभर्नरहरुले मुलुकको अर्थतन्त्रलाई हेरेरै कदम चालेका हुन्छन् । कति समय अनुकूल भयो वा भएन मात्र हो । नीतिगत कुरा, पैसा बजारमा पठाउने कुरा, पैसा बजारबाट फिर्ता लाने कुरा समयानुकूल हुनुपर्छ । त्यसकारण केन्द्रीय बैंकको गभर्नर राजनीतिज्ञ जस्तो होइन, ऊ भनेको पर्दा पछाडि बस्नुपर्छ । समयको रुपमा कति अगाडि पछाडि भयो होला तर केन्द्रीय बैंंकले गलत गर्नै सक्दैन ।

मौद्रिक नीतिको समीक्षामा विद्युतीय गाडीलाई राष्ट्र बैंकले निषेध गरेको हो कि भन्ने छ नि ?

राष्ट्र बैंकको कति चिजहरु सरकारले लिएको नीतिगत कुरालाई सपोर्ट गर्ने हुन्छ । सरकारको राजस्व कम भएको हुनाले करिब ४० अर्ब रुपैयाँ जति विद्युतीय गाडीबाट सरकारको राजस्व प्राप्त हुने हो । त्यो हिजोको दिनमा नपाएको हुनाले अहिले विद्युतीय गाडीलाई ८० बाट घटाएर ६० राखेको कारण नै त्यहि हो ।

भिडियो हेर्नुहोस् :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend