
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शनिबार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एकातिर दक्षिण—पूर्व—पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सीमाना जोडिएको चीन रहेको बताए ।
चीनसँगको सीमाना हिमालले पर्खाल सरह काम गरेको भएपनि भारतसँग खुला सीमाना रहेको बताए । भारतसँग विगतमा भएका सन्धी, सम्झौतहरु अद्यावधि हुन नसकेको उनले बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधिनता, स्वाभिमानको लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । एमालेले आफ्ना अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको उनले बताए ।
नेपालको राजनीतिमा अनेक ढंगले समस्याहरु छन् भन्ने हिसावले चित्रण गर्ने र नेकपा एमालेलाई कमजोर देखाउने कोशिस भइरहेको बताए । उनले एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गरे ।
एमालेलाई आफ्नो भुमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोशिस भइरहेको उनले बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘नेपालको पोलिटिक्समा अनेक ढंगले समस्या छन् भन्ने हिसावले चित्रण गर्ने, नेकपा एमालेलाई कमजोर देखाउने यस हिसावले एउटा कोशिस भइरहेको छ । तर नेकपा एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै, अफ्ठ्याराहरुसँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा, स्वाधिनताको पक्षमा, मुलुकलाई समृद्ध बनाउने कुराको पक्षमा, जनताको हक हितको पक्षमा दृढतापूर्वक उभिँदै आयो ।
हिजो सत्तामा नभएको बेलामा, प्रतिकुल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस् । उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन । मनमोहन अधिकारीले जुन सपना देख्नुभएको थियो, जुन विचार अघि सार्नुभएको थियो, जुन कार्यक्रमहरुलाई अगाडि सार्न खोज्नुभएको थियो, तिनै चिजलाई निरन्तरता दिने कोशिस एमालेले गर्दै आएको छ ।’
‘एमालेलाई उसको भुमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोशिस भइरहेको छ । यस्तो बेलामा मनमोहन अधिकारी हाम्रो अगाडि अभिभावक बनेर, प्रेरणाको श्रोत र शितल छहारी बनेर हाम्रो अगाडि उभिनुभएको छ । हामी हाम्रा अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी छ । भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ ।
एकातिर दक्षिण, पूर्व, पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको हाम्रो छिमेकी भारत छ । सीमाना खुला छ । उसितका सन्धी, सम्झौताहरु हिजो जुनसुकै कालखण्डमा भएका भएपनि ति अध्यावधिक हुन सकेका छैनन् । ति यथावत छन् । अर्कोतिर उत्तरतिर हाम्रो चीन छिमेकी मुलुक १४ सय किलोमिटर सीमा जोडिएको मुलुक छ । संयोगले, भाग्यले हिमालको पर्खाल खडा छ ।’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिष्ट पार्टीहरु भन्दा पनि ज्येष्ठ कम्युनिष्ट भएको बताए । उनले मनमोहन अधिकारी कम्युनिष्ट पार्टीहरुको अभिभावक भएको जिकिर गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend