
मोरङको बुढीगंगा–२ को बाइपास रोडमा एलेक्सा लाइफसाइन्सेज प्रालि औषधि उद्योग सञ्चालनमा आउने भएको छ । उद्योग निर्माणको अन्तिम चरणमा पुगेको छ । विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट निर्माणको अन्तिम चरणमा रहेको एलेक्सा लाइफसाइन्सेज प्रालिका अध्यक्ष दिनेश ठाकुरले जानकारी दिए ।
उद्योगमा १०० करोड लगानीमा हुने जनाइएको छ । उद्योगमा पहिलो चरणमा ७५ करोड लगानी भइसकेको र पूर्णरुपले सञ्चालन हुन थप २५ करोड लगानी आवश्यक हुने अध्यक्ष ठाकुरले जानकारी दिए ।
अन्तराष्ट्रिय स्तरको उच्च गुणस्तरीय औषधि उद्योगको स्थापना गर्न लागिएको बताउँदै ठाकुरले उद्योगमा एभरेस्ट बैंक लिमिटेड दुबई शाखाको वित्तीय ऋण लगानी रहेको बताए । उद्योगमा दिनेश ठाकुर स्वर्णकार र रंजित भगत संचालक रहेका छन् ।
‘उद्योग सञ्चालनको सोचदेखि निर्माण कार्य गर्दै गर्दा धेरै कठिनाइ, बाधा, अवरोध आएको थियो’, ठाकुरले भने, ‘अप्ठ्यारोलाई सजिलो बनाउँदै उद्योग संचालनको अन्तिम चरणमा पुगेका छौँ ।’ गुणस्तरीय तथा सुरक्षित औषधि प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार हो भन्ने कुरालाई ध्यानमा राख्दै औषधिको गुणस्तरीयतामा कुनै सम्झौता नगरिने प्रतिबद्धता आफूहरुको रहेको उनले बताए ।
‘देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान पुर्याउनुका साथै औद्योगीक विकास तथा रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुर्याउने उद्धेश्य रहेको छ’, उनले भने, ‘देशमा लगानीको वातावरण नरहेको तथा रोजगारी सृजना हुन नसकेको भन्ने भाष्यले सिर्जना गरेको निराशाका बीच हामीले करोडौं लगानीमा सयौंलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालनमा ल्याउन लागिएको हो । यो हाम्रो लागि एउटा महत्वपूर्ण क्षण हो ।’
स्लाइन पानी उद्योग भनिए पनि यो निर्माण प्रक्रिया अत्यन्त संवेदनशील विधा रहेको अर्का सञ्चालक रंजित भगतले बताए । उनले यसमा अपनाइने निर्माण प्रविधि तथा नियमन मापदण्डहरु प्रति आफूहरु अत्यन्त सजग रहेको बताए । उनले भने, ‘नेपालको औषधि उद्योगमा यो एउटा कोसेढुङ्गा साबित हुने कुरामा हामी ढुक्क छौं ।’
उद्योगले ३ चरणमा गरी आफ्नो उत्पादन बजारमा ल्याउने तयारी गरेको छ । पहिलो चरणमा अत्यावश्यक मानिने स्लाइन पानी एलभिपी, दोश्रो चरणमा एसभिपी सिसाको १ एमएलदेखि बीस एमएल सम्मका सुईहरु र तेस्रो चरणमा आई एण्ड ईएर ड्रपको उत्पादन गरिने जनाइएको छ ।
एलभिपी क्षेत्रमा नेपालमा पूर्णरुपले सञ्चालनमा रहेको एक तथा बिदेशी गरी जम्मा ११ कम्पनीको उत्पादन बजारमा उपलब्ध रहेको बताउँदै भगतले एलेक्सा सञ्चालनमा आएपछि सम्भवतः नेपालको सबैभन्दा ठूलो तथा स्तरीय कम्पनी हुने विश्वास व्यक्त गरे ।
वार्षिक करिब ६० अर्बको बजार रहेको औषधि क्षेत्रमा ६० प्रतिशत हिस्सा बिदेशी कम्पनिले ओगटेको छ । नेपालमा सयभन्दा बढी कम्पनी औषधि ब्यबस्था बिभागमा दर्ता रहेपनि ७५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्ने राज्यको नीति नहुँदा तीमध्ये २० देखि २५ कम्पनीको अवस्था मात्रै केही राम्रो भएको र अन्य कम्पनीहरुको अवस्था दयनीय रहेको अध्यक्ष ठाकुरले बताए ।
के हो स्लाइन औषधि ?
सामान्य भाषामा भन्दा यसलाई स्लाइन पानी भनिन्छ । पानी भन्ने शब्दको प्रयोग गर्दा सामान्य जस्तो सुनिएपनि आधुनिक चिकित्सामा बिरामीको उपचारका लागि यो महत्वपूर्ण तत्व हो । अत्यन्तै संवेदनशील र अत्यावश्यक औषधिको वर्गमा यसलाई राखिएको छ ।
मुखबाट दिइने औषधि भन्दा पनि यो बढी संवेदनशील हुन्छ । मुखबाट खाने औषधिमा केही गडबडी भएपनि पाचन प्रणाली हुँदै रगतमा पुग्ने भएकाले तत्काल ठूलो हानी नपुर्याउन सक्छ । तर, यो सिधैं रगतबाट प्रवाह भइ मुटु तथा दिमागम्म पुग्छ ।
यदि यसको गुणस्तरमा कुनै किसिमको कमी कमजोरी भए ज्यानै जोखिममा पर्ने सम्भावना उच्च रहन्छ । रगतमा जाने भएकाले रगत जस्तै शुद्ध बनाउनुपर्ने मान्यता राखिन्छ । बिगत २५ वर्षदेखि स्लाइनको उत्पादन तथा बजारीकरण र अस्पताल क्षेत्रमा आबद्ध रहिआएको अनुभवलाई औषधि उत्पादनमा प्रयोग गर्नका लागि एलेक्सा सञ्चालनमा ल्याएको ठाकुरले बताए ।
‘कम्पनीद्वारा उत्पादित औषधिहरु उच्च गुणस्तरीय हुनेछन् अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछन् भन्ने विश्वास दिलाउन चाहान्छौं’, उनले भने ।
उद्योग मार्फत स्वास्थ्य क्षेत्रमा २ सय बढीले प्रत्यक्ष रोजगारी पाउने र ५ सय बढीले अप्रत्यक्ष रोजगारी पाउने ठाकुरले जानकारी दिए । उद्योग पूर्णरुपमा सञ्चालनमा आएपछि केही हदसम्म आयातलाई प्रतिस्थापन गर्ने समेत उनले जानकारी दिए ।
उनलले स्वदेशमै विश्वस्तरीय उच्च स्तरको औषधि उत्पादन गरी सर्वशुलभ मूल्यमा नेपाली नागरिकको पहुँचसम्म पुर्याउने, देशको वर्तमान अवस्था तथा सुस्त आर्थिक गतिविधिको बीचमा देशको आर्थिक विकासमा सघाउन निरन्तर लगानी बढाइरहेको र नयाँ उत्पादन ल्याइरहेको अवगत गराउँदै उत्प्रेरकको भूमिका निर्वाह गर्ने, अन्य मुलुकमा औषधि निर्यात गरी मुलुकको जिडिपी वृद्धिमा भूमिका निर्वाह गर्ने र अन्तरास्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्ने लक्ष्य राखेको उद्योगले समयानुकुल उपलब्ध हुने प्रविधि र उत्पादन पद्धतिलाई पछ्याउँदै जाने अध्यक्ष ठाकुरले सुनौलो नेपाललाई जानकारी दिए ।
नेपालमा औषधि उद्योगको सम्भावना, चुनौति र समस्याबारे यस्तो छ अध्यक्ष ठाकुरको धारणा
नेपालमा औषधि उद्योगको इतिहास लामो नभएता पनि १९७० को दशकमा सरकारले तत्कालिन (शाही औषधि लिमिटेड, नेपाल औषधि लिमिटेड) को स्थापना गरी औषधि उद्योगको स्थापना भैसकेको थियो भने लगभग त्यसै समयमा नेपालमा निजी क्षेत्रले पनि औषधि उद्योगमा प्रवेश गरेको थियो ।
छिमेकी मुलुक बंगलादेश सन् १९७१ मा मात्र पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको थियो । त्यही नयाँ देश बंगलादेशले आज औषधिको क्षेत्रमा उदाहरणीय प्रगति गरेर देखाएको छ । बंगलादेश औषधिमा ९७ प्रतिशतले आत्मनिर्भर भएको छ भने त्यहाँको औषधि युरोप लगायत दुई सय देशमा निर्यात हुन्छ । नेपालमा सरकारी स्वामित्वकै औषधि उद्योग समेत संकटमा रहेको छ ।
कुनै पनि उद्योग फस्टाउनु, आत्मनिर्भर हुनुमा त्यो देशले त्यस उद्योगप्रति लिने नीति नियम र रणनीतिको निर्णायक भूमिका रहन्छ । यदि सरकारले सही रणनीति र संकल्पका साथ अगाडि आउने हो भने नेपाल औषधिमा आत्मनिर्भर हुनेतर्फ अगाडी बढ्ने सुर्वण अवसर छ ।
बिद्युत आपूर्ति नियमित हुन नसक्नु, उद्योग स्थापना गर्दा उद्योगमा प्रयोग हुने विभिन्न खाले सामग्रीमा (प्यानल, चिलर, कम्प्रेसर, बोयलर तथा यसका फिटिङ, एसएटस पाईप, पानी प्रशोधन यन्त्र, ल्याबका फर्निचर आदि) अनुदानको साटो चर्को भन्सार शुल्क असुल गरिनु, औषधि उद्योग प्यानमा कारोबार गर्ने प्राबधान रहेको तर सम्पूर्ण सामग्री खरिद गर्दा मूल्य अभिबृद्धि कर तिर्नु परेकोले उद्योग लागतमा थप भार पर्नु समस्याको रुपमा रहेको छ ।
त्यस्तै अन्य मुलुकमा जुन औषधि स्वदेशी उद्योगले उत्पादन गर्न सक्छ, त्यस्ता औषधि आयातमा रोक लगाउने प्रावधान रहेको हुन्छ तर हाम्रो मुलुकमा एकै खालको औषधि १० भन्दा बढी स्वदेशी कम्पनिले उत्पादन गरेपनि थप २० भन्दा बढ़ी विदेशी कम्पनीलाई खुला आयात गर्न अनुमति दिइने गरिन्छ । यस कारण एक स्वदेशी उद्योगले आफ्नो एक खालको उत्पादन बजारीकरण गर्न २० भन्दा बढी कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।
प्रायजसो अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बिमा लागु रहेको कारण उक्त अस्पतालहरुमा सेवाग्राहीको बाक्लो भीड रहन्छ । अस्पताल फार्मेसीले औषधि बाँकीमा खरिद गर्ने गरेको हुन्छ । भुक्तानीको बेला बिमाको पैसा आएपछि मात्र भुक्तानी गर्न सक्छौं, भन्ने गरिन्छ । सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण औषधि कम्पनिले समयमा भुक्तानी नपाएर थप मारमा परेको अवस्था रहेको छ ।
अन्य मुलुकहरुमा समयसापेक्ष औषधिको मूल्य समायोजन गर्ने गरिन्छ । मूल्य समायोजन भनेको मूल्य बृद्धि गर्नु मात्र हैन, धेरै औषधि यस्ता हुन्छन् जसको खोज तथा अनुसन्धानमा भएको खर्चका कारण केही वर्ष एकदमै महंगी हुन्छन् तर पछि ती औषधिको मूल्यमा भारी गिरावट हुन्छ र समयमा समायोजन गर्ने हो भने नागरिकले कतिपय औषधि धेरै सस्तो मूल्यमा पाउन सक्छन् ।
आज भन्दा १५ वर्ष अगाडि अधिकतम खुद्रा मूल्य कायम भएको औषधिको मूल्य हाल सम्म यथावत रहेको छ। जसकाकारण त्यस प्रकारका औषधिहरु सजिलै उपलब्ध नहुनुले बिरामीहरुलाई सास्ती खेप्नु परेको छ भने अर्कातिर स्वदेशी कम्पनीहरुको उत्पादन लागत मूल्य पनि असुल उपर हुन गाह्रो देखिन्छ ।
औषधि व्यवस्था विभागमा सिमित संख्यामा रहेको कर्मचारीले नै ३०० भन्दा बढी औषधि उद्योगको सम्पूर्ण कार्यहरु सम्पादन गर्नु परेकोले औषधि उद्योगको प्रोडक्ट तथा मार्केटिङ लाईसेन्सका कार्यहरु एकदमै ढिला हुने गरेकोले निकै सास्ती बेहाेर्नु परेको अवस्था रहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend