logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • दोभान बजारमा लागेको आगलागी नियन्त्रण : ४९ घर जल्यो, ७९ परिवार विस्थापित आगलागी पीडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

    दोभान बजारमा लागेको आगलागी नियन्त्रण : ४९ घर जल्यो, ७९ परिवार विस्थापित आगलागी पीडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

    4.4K
    Shares

    ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज  बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ ।

    मंगलबार बिहान करिब ९ बजेदेखि शुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् । उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट पीडित बनेका छन् ।’

    दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको खड्काले बताइन् । जलेका घरमा रहेको आगो निभाउने काम भइरहेको र थप जोखिम नरहेको उनको भनाइ छ । बजारमा लागेको आगो बस्ती नजिकै रहेको जंगलमा सल्किएका कारण त्यसलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको खड्काले बताइन् ।

    आगलागीमा परेका पीडितहरुलाई बस्ती नजिकैको खाली ठाउँमा टेन गाडेर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताइन् । उनले भनिन्, ‘उद्योग वाणिज्य संघ ताप्लेजुङले अग्नि पीडितहरुलाई खानेकुराको प्रवन्ध गर्ने र रेडक्रसले लत्ताकपडाको व्यवस्था मिलाउने आपतकालीन बैठकले निर्णय गरेको छ । सोही निर्णय अनुसार अहिले काम भइरहेको छ ।’

    आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिले भन्न सकिने अवस्था नरहेको उनले बताइन् । पीडितहरुलाई तत्काल बस्न र खानाका लागि व्यवस्थापन गरेपछि क्षतिबारे लगत संकलन गरिने उनले बताइन् । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भए पनि यसबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

    आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए । जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर भएको उनले बताए । प्रहरीले क्षतिको विवरण संकलन हुँदै गरेको जनाएको छ ।

    आगलागी पीडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा
    प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेका छन् ।

    मंगलबार मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने बताएका हुन् । उनले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले प्रदेश–१ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend