
काठमाडौं । अख्तियारद्वारा दायर मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई विशेष अदालतले १३ करोड ५८ लाख ५२ हजार ५ सय ८० रूपैयाँ जरिवाना एवं कैद सजायको फैसला सुनाएको हो । पौडेललाई डेढ वर्ष कैद सजायसहित सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेर पदीय दुरुपयोग गरेको ठहरसहित थप ६ महिना कैद सजाय तोकिएको छ ।
पौडेललाई २ छुट्टाछुट्टै शीर्षको बजेटलाई एउटै प्याकेज बनाएर खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमबाहिर गएर एकै शीर्षकमा खरिद गरेको देखिएको पाइएको छ ।
सोही मुद्दामा म्याक्स इन्टरनेशनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई पनि १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रूपैयाँ जरिवाना तोकिएको छ ।
विकल र म्याक्स इन्टरनेशनल प्रालि र अकबर हुसेनबाट जनही ४४ लाख ३४ हजार १०३ रूपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने पनि विशेष अदालतले आदेश गरेको छ ।
त्यस्तै, पौडेलसँगै भ्रष्टाचारको मुद्दा दायर भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई विशेष अदालतले सफाइ दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend