
काठमाडौं। नबिल बैंक लिमिटेडका ग्राहकहरुले भारतको अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।
नविन बैंक र अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ ।
बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाइँले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार अब नबिल बैंकका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् ।
नेपालबाट विभिन्न रोगका उपचारका लागि भारतका अस्पतालमा जानेको संख्या उल्लेख्य रहेकाले बैंकका ग्राहकलाई विश्वस्तरीय स्वास्थ्य सेवा सुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले अपोलो इन्फर्मेसन सेन्टरसँगको समझदारी गरिएको सुवेदीले बताए ।
यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैंकले विश्वास गरेको छ ।
ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागू हुनेछ ।
अपोलो इन्फर्मेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो । जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीहरुसहित काठमाडौंको नक्सालमार्फत सेवा दिँदै आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend