
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कानून कार्यान्वयनको पक्षलाई बलियो बनाउने गरी देशभर बहस हुनुपर्ने बताएकी छन् ।
शुक्रबार कानून दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले कानून नेपालमा हरेक क्षेत्रसँग सम्बन्धित कानूनको चाङ रहेको तर कार्यान्वयनको पक्ष कमजोर रहेको बताइन् ।
कानून निर्माण मात्रै मुख्य कुरा नभइ कानूनको सही ढंगले कार्यान्वयन गर्नु महत्वपूर्ण भएको बताइन् । उनले कानूनको सही कार्यान्वयन र परिपालना नहुँदा कानूनको कुनै अर्थ नहुने बताइन् ।
निर्माण भएका कानून व्यवहारिक र समय सापेक्ष छ कि छैन भनेर कानूनको समीक्षा गर्ने समय भएको उनको भनाइ छ । उनले स्थानीय स्तरमा न्याय सम्पादन गर्नका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा न्यायिक मेलमेलाप केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।
उनले वडामा स्थापना भएका महिला सञ्जाल र मेलमिलाप केन्द्रका कारण मेलमिलाप गर्न आउनेको संख्या बढेको बताइन् । काठमाडौं महानगरपालिकाको प्रत्येक वडामा निःशुल्क रुपमा मेलमिलाप सेवा दिइ रहेको उनको भनाइ छ ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले न्यायिक मनबाट न्याय दिनका लागि न्यायिक समितिको दायरा फराकिलो पार्नुपर्ने बताइन् । उनले न्याय सम्बन्धीको विषयमा संविधान र स्थानीय सरकार सञ्चालन ऐन दुविधामा रहेको बताइन् ।
उनले ऐनमा भएका दुविधाहरु तत्काल संशोधन गर्नुपर्नेमा जोड दिइन् । जिल्ला अदालत, उच्च अदालत वा सर्वोच्च अदालतमा न्यायका लागि मुद्दा दर्ता गर्नुपर्दा पीडितसँग न्यायाधीशहरुको प्रत्यक्ष सम्बन्ध वा भेटघाट नहुने भएकाले सही न्याय पाउनमा समस्या हुने उनले बताइन् ।
कार्यक्रममा वक्ताहरुले विधिको शासन कायम गर्न न्यायिक मनले न्याय दिनुपर्नेमा जोड दिएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend