सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

अन्तर्वार्ता :

नि:सन्तान समस्यामा महिला र पुरुष, को कति जिम्मेवार ?

नि:सन्तान समस्यामा महिला र पुरुष, को कति जिम्मेवार ?

'राजधानीकै मोर्डन पुरुषहरू पनि शुक्रकिट जाँच गर्न अप्ठ्यारो मान्छन्'

काठमाडौं । नेपालको प्रमुख निःसन्तान सेवा प्रदायक वात्सल्य आइभिएफ सेन्टरले काठमाडौंको नक्साल, भक्तपुर, नेपालगञ्ज, चितवन, पोखरालगायतको स्थानबाट निःसन्तान सम्बन्धी सम्पूर्ण सेवाहरु दिँदै आएको छ । पछिल्लो समय निःसन्तान वा बाँझोपनको समस्या निकै जटिल पनि बन्दै गएको छ । यो समस्या बढ्नुको कारण र समाधानका उपायबारे सुनौलो नेपालले वात्सल्य आइभिएफ सेन्टरकी प्रजनन् रोग विशेषज्ञ डा.अस्मिता पाण्डेसँग गरेको कुराकानी :

पछिल्लो समय वात्सल्य आइभिएफ सेन्टर निकै चर्चामा छ, कति वर्षसम्म बच्चा नभएका दम्पत्तिहरु यहाँ आउन सक्छन् ?
पहिलो कुरा त बाँझोपना भनेको के हो र बच्चा हुन नसकेको समस्या कहिले भन्ने जस्ता कुराहरु बुझ्नु आवश्यक छ । यही कुरा बुझ्न नसक्नु नै पनि एउटा समस्याको रुपमा रहेको छ । कुनै पनि दम्पत्तिले निरन्तर एक वर्षसम्म शारीरिक सम्पर्क राख्दा पनि बच्चा बसेको छैन भने हामी त्यसलाई बाँझोपना भनेर बुझ्नुपर्ने हुन्छ । तर, यसमा पनि उमेर समूह अनुसार फरक छ । जस्तो महिलाको सन्दर्भमा कुरा गर्दा ३५ वर्षभन्दा कम उमेरको छ भने एक वर्षको समय लिन्छौँ भने ३५ वर्ष कटिसकेका महिलाहरुले निरन्तर ६ महिना शारीरिक सम्पर्क राख्दा बच्चा बसेको छैन भने चिकित्सकलाई भेट्न सल्लाह दिन्छौँ ।

हाम्रो सामान्य बुझाईमा हरेक महिना अण्डा बढिरहेको हुन्छ, फुटिरहेको हुन्छ । र, जब सम्पर्कमा बसिन्छ, पाठेघरमा शुक्रकिट पुगेपछि तब बच्च बन्नुपर्छ । पहिलो महिना, दोस्रो महिना नबन्ला तर हामीले एक वर्षको समय दिनुको मतलब त्यो समयसीमा भित्र एउटा त राम्रो अण्डा र शुक्रकिटको मिलन भएको हुनुपर्छ । त्यो नभएपछि श्रीमानमा समस्या हो कि श्रीमतीमा समस्या हो भनेर चेकचाँज गर्नुपर्ने भएकाले हामीले एक वर्षको समय सीमा राखेको हो ।

एक वर्षसम्म पनि बच्चा भएन भने वात्सल्यमा आइसक्दा के कस्ता प्रक्रियाहरू हुन्छन् ?
हामी कहाँ आइसकेपछि पहिलो भनेको के कारणले भएन भन्ने कुरा पत्ता लगाउनतर्फ जान्छौँ । हामीले महिला पुरुष दुवै जनाको जाँच गर्छौँ । महिलाको सामान्य रगत परिक्षण र हर्मोनको चेकजाँच गर्छौँ । अल्ट्रासाउण्डको माध्यमबाट पाठेघर र अण्डासयहरुको अवस्था चेक गरिन्छ । र, श्रीमानको हकमा आजभोली हामीले रगत परिक्षण जस्तैः थाइराईड, सुगर र भिटामिन ‘डी’हरुको परिक्षण गर्छौँ भने शुक्रकिटको गुणस्तर, नम्बरहरुको चेकजाँच गर्छौँ । यी सबैको रिपोर्ट हामीसँग भइसकेपछि हामीलाई कहाँ समस्या भएर बच्चा नभएको रहेछ भन्ने जनरल आईडिया हुन्छ । हामी त्यहि अनुसारको उपचारहरुका लागि सुझाव दिन्छौँ ।

समाजमा महिलाको कारणले बच्चा हुँदैन भन्ने सोच छ, यो महिलाको मात्र हो कि पुरुषको कारण पनि बच्चा नहुने हो ?
यो दुवैको हो । हामीले भन्दा बच्चा नहुनुमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषको भूमिका हुन्छ भन्छौँ । हामी देशकै राजधानीमा बसेर अभ्यास गरिराखेका छौँ । यहाँ मोर्डन सोसाइटी, मोर्डन फ्यामिली हुन्छन् भन्ने सोच्छौँ । तर, यहाँ पनि पुरुषहरुलाई शुक्रकिटको जाँच गराउन गाह्रै हुन्छ । कतिपयले शारीरिक सम्बन्धमा बस्न समस्या छैन भने शुक्रकिटमा पनि समस्या छैन भन्ने बुझ्नुहुन्छ, जुन एकदमै गलत हो । सम्बन्धमा बस्न समस्या नहुँदा नहुँदै पनि शुक्रकिटमा समस्या हुन सक्यो ।

समस्या पहिचान भइसकेपछि उपचारको विधि के हुन्छ र कति समय लाग्छ ?
समस्या कहाँ छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । जस्तो महिलाको हकमा कुरा गर्दा थाइराईड हर्मोनमा समस्या हुन सक्यो । अर्को प्रोल्याक्टिन भन्ने हर्मोन हुन्छ, जुन दिमागबाट आउँछ, त्यो हर्मोनमा समस्या हुन सक्यो । अथवा, अहिले हामीले धेरै सुनिरहेको पिसिओएस भन्ने पनि हर्मोनकै समस्याले गर्दा देखिन्छ । हर्मोनको समस्याले गर्दा बच्चा बसेको छैन भने त्यो उपचार गर्न सकिने हुन्छ । थाइराईड, प्रोल्याक्टिनमा हामीले सामान्य औषधि दिएर उपचार गर्न सक्छौँ भने पिसिओएसमा हामीले दैनिक क्रियाकलापमा परिवर्तन गर्न भन्छौँ । यसको लागि पनि औषधिहरु पनि हुन्छन् । यी सबैको उपचार गरेर हामीले सामान्य प्राकृतिक ढंगबाटै गर्भाधारण गर्ने कोशिस गर्न मिल्छ ।

पिसिओएसमा महिनावारी ढिलाढिला हुने भएकाले कहिले अण्डा बन्यो, कहिले फुट्यो भन्ने कुरा ट्रयाक गर्न कठिनाई हुने भएकाले हामीसँग फलोअपमा बसेर हामीले अण्डाको साइजहरु चेक गर्दै कहिले शारीरिक सम्बन्धमा बस्ने भन्ने समय मिलाइदिन्छौँ । यसलाई हामीले ‘ओभुलेसन इन्डक्सन वीथ टाइम्ड इन्टरकोर्ष’ पनि भन्छौँ । यो चाहिँ केही पनि समस्या नभएको श्रीमान्/श्रीमतीमा टाइमिङ मात्र नमिलेको हो कि भन्ने हिसाबमा हामीले यस्तो कोशिस गर्छौँ ।

अर्को भनेको ‘आईओआई’ भन्ने प्रक्रिया हुन्छ । यो भनेको मानौँ, श्रीमानको शुक्रकिटमा समस्या छ, शुक्रकिटको चल्नसक्ने शक्ति कम छ, संख्या नै कम छ भने हामीले आइओआई भन्ने प्रक्रियाका लागि सुझाव दिन्छौँ । यो भनेको श्रीमतीमा गर्ने प्रक्रिया पहिले भने जस्तै सबै उस्तै हुन्छ । अण्डा बन्ने औषधिहरु दिन्छौँ र अण्डा फुट्ने बेलामा आफैँ सम्बन्धमा नबसेर श्रीमानको बीर्यहरु लिएर हामीले ल्याबमा क्लिन गरेर राम्रो/राम्रो शुक्रकिटहरु छानेर महिलाको पाठेघरमा नै लगेर राख्दिन्छौँ । यौनीमा झर्ने शुक्रकिट हामीले पाठेघरमा नै लगेर राख्ने हुँदा गर्भाधारण हुने सम्भावना बढी हुन्छ । त्यसपछि भनेको आइभिएफ नै हुन्छ ।

त्यति गर्दा पनि भएन अथवा अरु कुनै ठूलो समस्या देखियो । जस्तो महिलाको दुई वटै नलीहरु ड्यामेज भएको छ वा फुलेको वा नली नै छैन भने पनि गर्न सकिन्छ । श्रीमानको शुक्रकिट एकदमै कम छ वा दश मिलियनभन्दा कम भयो भने हामीले आइभिएफका लागि सुझाव दिइराखेका हुन्छौँ ।

अर्को भनेको ‘अनएक्सप्लेन्ड इन फर्टिलिटी’ भन्ने हुन्छ । त्यो भनेको नेचुरल अथवा अन्य सबै तरिका ट्राई गरिसक्दा पनि बच्चा बसेको छैन भनेपनि कारण नै थाहा नभएको भन्ने पनि ६० प्रतिशत हुन्छ, जसलाई हामी अनएक्सप्लेन्ड इन फर्टिलिटी भनिन्छ । यस्तोमा पनि हामीले आइभिएफका लागि सुझाव दिन्छौँ ।

आइभिएफका लागि कुन उमेर समूहका महिलाहरु सक्षम हुन्छन् ?
आइभिएफमा जानका लागि उमेर महत्वपूर्ण र सबैभन्दा धेरै योगदान दिने फ्याक्टर हो । तर, अहिलेको सिनारियोलाई हेर्ने हो भने प्रदूषणले गर्दा हो कि खानपानले गर्दा हो वा दैनिकीले गर्दा हो भन्ने एकिन भइसकेको छैन । उचित उमेरमा नै पनि महिलामा अण्डाको भण्डार र पुरुषमा शुक्रकिटको भण्डार निकै कम भएको देखिन्छ । अहिलेको अवस्थामा आइभिएफका लागि उमेर मात्र एउटा फ्याक्टरको रुपमा रहेको छैन ।

आइभिएफको लागि कस्तो प्रक्रिया हुन्छ ?
हरेक महिलाको हरेक महिना एउटा अण्डा चाहिँ ठूलो हुन्छ । महिनावारीको १२/१३ दिनमा पुग्दा ठूलो हुन्छ र सम्पर्कमा बस्दा त्यो फुट्छ र गर्भाधारण हुन्छ । आइभिएफका लागि हामीलाई धेरै अण्डा चाहिन्छ, जसको लागि हामीले महिलाको महिनावारीको २/३ दिनदेखि हर्मोनको इन्जेक्सनहरु दिन्छौँ । यसले गर्दा धेरै अण्डाहरु ठूलो हुने हुन्छ । जब धेरै अण्डाहरु १८ देखि २० मिलिमिटर साइजको हुन्छ, त्यसपछि हामी निकाल्ने प्रक्रियामा जान्छौँ । जतिपनि अण्डाहरु देखिन्छ, हामीले त्यसलाई निडिलको सहयोगमा योनीबाटै निकाल्छौँ । अण्डासँग जुन पानी आउँछ, त्यसलाई हामी एमडियोलोजिष्टहरुलाई ल्याबमा दिन्छौँ । उहाँहरुले चेक गरेर हेर्नुहुन्छ र श्रीमानले पनि बीर्य दिनुहुन्छ । हामीले त्यो राम्रो राम्रो शुक्रकिटहरु छानेर ल्याबमा मिलन गराएर आइफिएफ गर्छौँ ।

डोनरको सहयोगले आइफिएफ गराउन मिल्छ कि मिल्दैन ?
जति उमेर होस् तर महिलाको अण्डा एकदमै कम छ, इन्जेक्सन दिएर पनि अण्डा बढ्ने अवस्था छैन भने अन्य महिलाको अण्डा लिन मिल्यो र श्रीमान आफैँको बीर्य लिन मिल्छ र जुन बच्चा बन्छ, हामीले बनेको बच्चालाई लगेर पाठेघरमा नै राख्दिन्छौँ ।
श्रीमानको हकमा शुक्रकिट नदेखिनुलाई हामी एजोस्फर्मिया भन्छौँ । यो पनि दुई प्रकारको हुन्छ । हर्मोनकै कारणले उत्पादन नै भएको छैन भने डोनरमा नै जानुपर्छ तर अर्को किसिमको एजोस्फर्मिया भनेको अप्रेशन वा कहिलेकाहीँ टिबी भएर अथवा कुनै इन्फेक्सन भएर आउने क्रममा बाटोमा ब्लक मात्र भएको छ भने ‘टिसा’ भन्ने प्रक्रियाबाट शुक्रकिट निकालेर पनि गर्भाधारण गराउन सक्छौँ ।

डोनरको प्रक्रिया कस्तो हुन्छ ? तपाईहरु आफैँले खोज्नुहुन्छ कि आवश्यक व्यक्तिहरु आफैँले खोज्छन् ?
यो दुवैले गर्न मिल्छ । कोही कोही दम्पत्तिले सकेसम्म आफूसँग मिल्ने खालको डोनर खोजेर ल्याउनु हुन्छ भने कतिले चाहीँ परिवारमा भनेकै हुँदैनन्, गोप्य रुपमा चाहन्छन् । त्यस्तो अवस्थामा हामीले यहीँबाट उपलब्ध गराउँछौँ ।

यसको लागि कुनै कानूनी जटिलता छ कि छैन ?
अहिलेसम्मकाे अवस्थामा नेपालमा यसको कुनै नियम कानून बनेको छैन । तर, एउटा चिकित्सकको हिसाबले ‘सेन्ट्रल रेजिष्ट्रि सिस्टम’ चाहिँ हुनुपर्छ । यसको मतलब कसैको नाम र आईडी इन्टर गर्ने वित्तिकै सबै डेटाहरु हेर्न मिल्छ, यो विकसित देशहरुमा छ । यहाँ डोनरहरुले धेरै पटक अण्डा र स्पम डोनेट गर्दिने गर्नुहुन्छ । भोलि विहे गर्ने सन्दर्भमा पनि एउटै दाजुभाइ, दिदीबहिनी पर्न पनि सक्छन् । मुख्यतः पुरुषको हकमा ७ पटक भन्दा बढी र महिलाको हकमा ३ पटक भन्दा बढी डोनेट गर्न मिल्दैन । यसको लागि पनि ‘सेन्ट्रल रेजेष्ट्रि सिस्टम’ को लागि ध्यानाकर्षण गराउन पनि चाहान्छु ।

बाँझोपनको समस्या कम गर्नका लागि केके कुरामा ध्यान दिनुपर्छ ?
यसमा पहिलो नम्बरमा दैनिकीकै कुरा आउँछ । यो भनेको खानपान र ब्यायाम भन्ने बुझौँ । दैनिकी एकदम राम्रो छ, सन्तुलित खानपिन खाइरहनु भएको छ भने अण्डा र शुक्रकिटको गुणस्तर राम्रो हुन्छ ।

अर्को भनेको प्रदूषणले पनि बाँझोपना हुने समस्या निम्त्याएको देखिन्छ । तर, जन्मिँदा नै थोरै अण्डा लिएर जन्मिएको छ भने त्यो संख्या बढाउन सक्ने अहिलेसम्म कुनै उपचार छैन । यद्यपी, फास्टफूडहरु धेरै खाने, धुम्रपान, मध्यपान गर्ने, ब्यायाम नै नगर्ने जस्ता कुराहरुमा भने ध्यान दिनु आवश्यक हुन्छ ।

वात्सल्यको तर्फबाट के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा त क्लिनिकमा जाने वित्तिकै आइभिएफ होला कि भनेर सोच्नु भएन । यहाँ आउनुभएका ६० प्रतिशतले नेचुरल रुपमा नै गर्भाधारण गर्नुभएको छ । जसमा केही उपाय लाग्दैन, त्यसमा मात्र हामीले आइभिएफ गर्ने हो । घरमा बसेर तनाव लिनुभन्दा चिकित्सकलाई भेटेर सल्लाह लिन सुझाव दिन्छु ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट