
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गरिएको निवेदनमा बहस सकिएसँगै आदेश आउने तयारी भएको छ । सभापति लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ आज सकिएको हो ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइ आज सकिएपछि आजै आदेश सुनाउने तयारी गरेको हो । मंगलबार र बिहीबार पनि बहस भएको थियो ।
आदेश आजै आउने भएपछि सर्वोच्च परिसरबाहिर सञ्चारकर्मी, लामिछानेका शुभचिन्तक, रास्वपाका नेता कार्यकर्ताको भीड लागेको छ ।
सर्वोच्च गेटमा पनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । यस्तै, लामिछाने थुनामा रहेको रुपन्देही जिल्ला कारागार बाहिर पनि उनका समर्थकको बाक्लो भिड लागेको छ ।
शुक्रबार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछानेको तर्फबाट जवाफी बहस गरेका थिए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । हाल रबि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् ।
सर्वोच्चले उच्चको आदेश बदर गरेको खण्डमा लामिछाने थुनामुक्त हुने छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend