
काठमाडौं । गृहमन्त्री एवं काग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।
शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताए । कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने उनले बताए । अहिले आफूहरु संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिष्पर्धी पार्टीहरुबीको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको बताए ।
उनले भने, ‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्नेकुरा छ । साथीहरुले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिष्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रुपमा सञ्चालन गर्नेकुरामा केही समस्या, जटिलताहरु उत्पन्न हुन्छन् । त्यसलाई तपाईंहरुले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौँ । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौँ ।’
गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताए । पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend