
काठमाडौं । यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै नेपालमा भित्रिएको मनसुन केही दिनदेखि पुन: निस्क्रिए भएको छ ।
मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी पर्न सकिरहेको छैन भने देशभर गर्मी बढेको छ । कोसी प्रदेशमा जेठ १५ गते राति भित्रिएको मनसुन पश्चिमतर्फ अगाडि बढ्न सकेको छैन ।
मौसमविदहरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिनुपर्छ । तर, मनसुन भित्रिएको जेठ १५ गतेदेखि आज जेठ २७ गतेसम्म (१२ दिनको अवधिसम्म) पनि पश्चिमी वायु शक्तिशाली छ ।
कहिले देखि पर्छ पानी ?
अझै केही समय कोसीमै मनसुन सीमित रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, कति समय हो भन्ने बारे विभागले प्रष्ट पारेको छैन ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार अबको दुई/तीन दिनबाट मनसुनले गति लिनेछ । उनी भन्छन्, “भोलिबाट देशभर हल्कादेखि मध्यम वर्षा हुँदै छ तर, प्रणाली परिपक्व हुन केही दिन लाग्ने देखिन्छ । भोलिको दुई/तीन दिनबाट भने मनसुनले गति लिने देखिन्छ ।”
मनसुन कोसी प्रदेशमा लामो समय ‘ब्रेक’ हुनु सामान्य भएको उनको भनाइ छ । यसअघिका वर्षमा पनि यस्तो हुने गरेको उनी बताउँछन्। गर्त वर्ष कोसी प्रदेशमा ९ दिन मनसुन ‘ब्रेक’ भएको थियो ।
“कोसी प्रदेशबाट बंगालको खाडीनजिकै रहेकाले त्यहाँ मनसुनी वायु नेपालमा अन्य प्रदेशको तुलनामा चाँडै आउँछ । कोसी नदीबाट पनि वायु फ्लो भइरहेको हुन्छ,” उनी भन्छन्, “त्यही भएर कोसीमा सधैँ अन्य प्रदेशमा भन्दा चाँडै मनसुन भित्रिन्छ । र, केही समय त्यहीँ रहन्छ । यो सामान्य प्रक्रिया हो ।”
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने मिति अक्टुबर २ तारिख भए पनि २०८१ सालमा जेठ २८ गते (१० जुन) र २०८० सालमा जेठ ३१ गते (१४ जुन) मा भित्रिएको थियो । केही वर्षयता भने सरदर मितिभन्दा अगाडि मनसुन भित्रिने र सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend