
ताप्लेजुङ, जेठ २८ – नेपाल सरकार अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा सञ्चालित पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको संरक्षण र व्यवस्थित विकासका लागि महत्त्वपूर्ण निर्णयहरू लिएको छ।
समितिको २०८१ साल पौष १ गतेको निर्णयअनुसार पाथीभरा देवीस्थललाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न पहल थालिएको छ। सोही सन्दर्भमा क्षेत्रको मौलिकता कायम राख्ने लक्ष्यसहित गुरु योजना निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। पुरातत्व विभागसँग समेत यसबारे आवश्यक समन्वय भइसकेको समितिले जनाएको छ।
समितिका अनुसार पाथीभरा क्षेत्र विकास समितिको स्वीकृति विना कुनै पनि संस्था, व्यक्ति वा समूहले क्षेत्रभित्र कुनै किसिमका कार्यक्रम, अभियान वा संरचना निर्माण नगर्न अनुरोध गरिएको छ। यस प्रकारका क्रियाकलापले पाथीभरा क्षेत्रको मौलिकता, सौन्दर्य र धार्मिक महत्वमा असर पुर्याउन सक्ने भएकोले समितिले पूर्व स्वीकृति लिई मात्र गतिविधि गर्न आग्रह गरेको हो।
२०७५ मा संशोधित पाथीभरा क्षेत्र विकास समिति गठन आदेशअनुसार तोकिएको सीमाभित्र (निजी जमिन बाहेक) समितिलाई संरक्षण र व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको छ। यस अनुसार २०८२ जेठ २७ गतेको निर्णयले बिना अनुमति गरिने गतिविधिहरूमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट गरिएको छ।
प्राकृतिक सम्पदा, धार्मिक आस्था र सांस्कृतिक महत्वले भरिपूर्ण पाथीभरा क्षेत्रलाई अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न समिति दृढ रहेको जनाएको छ। यस महान उद्देश्यमा साथ दिन बुद्धिजीवी, समाजसेवी, धार्मिक संघसंस्था, नागरिक समाज, प्रकृतिप्रेमी र सम्पूर्ण श्रद्धालुमा सकारात्मक सहयोगको हार्दिक आह्वान गरिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend