logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • प्रचण्डको भनाइ भन्दै भाइरल टिकटक भिडियो भ्रामक

    प्रचण्डको भनाइ भन्दै भाइरल टिकटक भिडियो भ्रामक

    3.2K
    Shares

    नेपालका भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाल्गुन २९ गते काठमाडौंमा गरेको भाषणको भिडियो क्लिप केही दिन यता विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

    उक्त भिडियोमा पौडेल आर्यन (@paudelaryan) को टिकटकको लोगो देख्न सकिन्छ भने केही प्रयोगकर्ताले उक्त लोगो नदेखिने बनाएका छन् । छाेटा र खासगरी गीतसम्बन्धी भिडियो बनाई शेयर गर्न सकिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताले आफै बोलेर, अभिनय गरेर, अरुको आवाजमा अभिनय गरेर वा उपलब्ध फोटो वा भिडियो प्रयोग गरी छुट्टै भिडियो बनाउन सक्छन् । ती सामग्री टिकटकका साथै फेसबुक, ट्वीटर आदिमा पनि शेयर गर्न सकिन्छ ।

    उक्त २१ सेकेण्डको लामो भिडियोमा “कति नी लाज न भाको हेर्नु त जनता खराब रे लास्टमा त यो प्रचण्डको भनाई कामचोर लोभी पापी रे जनतालाई त” भन्ने वाक्य छ । भिडियोमा प्रचण्डको यस्तो भनाइ राखिएको छ :

    “नेता होइन, जनता नै खराब भाको हुनाले नेता नि खराब भएका । तपाईहरु सबै असल हुनुस् त, नेता असल नभई सुख पाउँछ त? तपाईहरु चाहिँ कामचोर, कहीँ न कहीँ अल्छी, अलि लोभी, अलि पापी धेरै हुनु भो । नेता पनि त्यस्तै भए ।”

    पौडेल आर्यनले टिकटकमा राखेको उक्त भिडियो  ३ लाख ३५ हजार पटक भन्दा बढी हेरिएको छ भने विभिन्न सामाजिक सञ्जालमा २०७४ पटक शेयर भएका छन् । उक्त भिडियोमा १७००० ‘लभ रियाक्ट’ आएका छन् भने १८०० भन्दा धेरै प्रतिक्रिया । सोही भिडियो फेसबुकमा पनि धेरै जनाले शेयर गरेका छन् । भानु सिपिएन (Bhanu Cpn) नामक फेसबुकमा चैत्र ३ गते पोष्ट गरिएको उक्त भिडियो ३४०० पटक शेयर भएको छ भने १ लाख ११ हजार पटक हेरिएको छ । यसैगरी रुद्र थापा सरु (Rudra Thapa Saru) ले ‘सस्तो घर जग्गा नेपाल काठमाडौं’ नामक फेसबुकको पब्लिक ग्रुपमा शेयर गरेको उक्त भिडियो ९१ पटक शेयर गरिएको छ । यस्तै ‘नेपाली मन नेपाली पन’ नामक पेजले शेयर गरेको भिडियो १३०० पटक हेरिएको छ भने २६ पटक शेयर गरिएको छ ।

    उक्त २१ सेकेण्ड लामो भिडियोमा केही शब्द बदली पौडेल आर्यन (@paudelaryan) को टिकटकको लोगो नदेखिने गरी सोही भिडियो ट्वीटरमा पनि शेयर गरिएको छ । किरण जोशी (@kiranjoshi235) नामक ह्याण्डलबाट पोष्ट गरिएको उक्त भिडियो १६ पटक रिट्वीट भएको छ ।

    tw-and-group-750x469.jpg

    तथ्य जाँच:

    उक्त भिडियोमा सुत्र टिभीको लोगो देखिएको हुनाले हामीले सुत्र टिभीको युट्युब च्यानलमा खोजी गर्दा सोही भिडियोको २६ मिनेट ३२ सेकेण्ड लामो पूर्ण अंश फेला पर्यो । उक्त भिडियो प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले गरेको भाषणको रहेको पत्ता लाग्यो ।

    भाइरल बनाइएको भिडियोमा दाबी गरे जस्तै प्रचण्डले ‘नेता होइन जनता नै खराब भाको हुनाले नेता नि खराब भएका…..’ भन्ने अभिव्यक्ति दिएका हुन् । तर उनले ती शब्दहरु नेपाली जनताका सन्दर्भमा प्रयोग गरेका होइनन् । उनले एक प्रसिद्ध चिनियाँ कवि लु सुनलाई उद्धृत गर्दै त्यसो भनेका हुन् ।

    प्रचण्डले कार्यक्रममा राखेको पूरा भनाइ यस्ताे छ:  “लु सुन भन्ने एउटा महान कवि तपाईहरु सबैले सुन्नुभएको छ । मानिसहरुले असाध्यै धेरै त्यतिबेला चै एकथरि मान्छेमा आदत भयो, नेतालाई गाली गर्ने । नेतालाई गाली गर्ने । जतिबेला पनि नेताहरु खत्तम भयो भन्या छ, पार्टीलाई गाली गर्या छ, जताकतै । त्यसो गरेको सुनेपछि लु सुनले भन्नुभाथ्यो- नेता होइन, जनता नै खराब भाको हुनाले नेता नि खराब भएका । तपाईहरु सबै असल हुनुस् त, नेता असल नभई सुख पाउँछ त?  तपाईहरु चाहिँ कामचोर, कहीँ न कहीँ अल्छी, अलि लोभी, अलि पापी धेरै हुनु भो । नेता पनि त्यस्तै भए, भन्नुभाछ के लु सुनले ।”

    चिनिया कवि लु सुनलाई उद्धृत गर्दै प्रचण्डले दिएको अभिव्यक्तिलाई काटेर बीचको भाग मात्र समावेश गरी भ्रामक भिडियो क्लिप शेयर गरिएको छ ।

    त्यसैले सुत्र टिभीको भिडियोलाई केही काँटछाँट गरी बेग्लै अर्थ लाग्ने गरी प्रचण्डकाे भाषणको भिडियोलाई भाइरल बनाइएको हाम्रो ठहर छ ।

    याे सामग्री हामीले southasiacheck.org बाट लिएका हाैँ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend