logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण

    कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण

    4.7K
    Shares

    पाल्पा। कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।

    सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न बिहीबारदेखि सर्वे शुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिए ।

    उनले अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरुपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताए ।

    कोशी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख भण्डारीको भनाइ छ । जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिए ।

    जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङ्गा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए ।

    छ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछ । विसं २०४०–४१ तिर पानीको अनुमानित आँकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ ।
    आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको सङ्घीय सांसद दलबहादुर रानाले बताए ।

    काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्री वितरणलगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend