
काठमाडौं । आइसिएफसी फाइनान्सका सिइओ सुनिल पन्तले लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्था राम्रो आर्थिक सल्लाहकारको रुपमा रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्थासँग आफ्नो अनुभव, टिम हुने भएकाले पनि उचित लगानीका लागि योजना छनोट गर्न सहज हुने सिइओ पन्तकोभनाइ छ । सिइओ पन्तसँग सुनौलो नेपालले गरेको कुराकानीको सम्पादित अंश :
वित्तीय हिसाबले कृषिमा लगानी गर्नु कत्तिको जोखिम छ ?
जुनसुकै क्षेत्रमा पनि लगानी गर्ने वित्तिकै जोखिम सँगसँगै आइहाल्छ । जोखिमको समेत मूल्यांकन गरेर त्यो क्षेत्रमा जानु उपयुक्त हुन्छ कि हुँदैन भन्ने नहेरी लगानी गरको हुँदैनौँ ।
सरकारले कृषिलाई प्राथमिकता दिने भनेपनि कृषिमा लगानी गर्न धेरै मानिस हच्किने गर्छन् । यसमा तपाईंको धारणा के छ ?
कृषि क्षेत्रमा उत्पादन गर्नु मात्रै ठूलो कुरा होइन । उत्पादन भइसकेपछि त्यसका लागि बजार चाहियो । बजारसम्म जाने च्यानल चाहियो, पूर्वाधारहरु चाहियो । शहरी क्षेत्रमा ठूलो जग्गा भाडामा लिएर कृषि गर्नु सजिलै सम्भव हुँदैन । किनकी, यहाँको जग्गाको भ्यालु एकदमै माथि हुन्छ । भाडामै लिँदा पनि महँगो पर्छ । त्यसकारण अलि परै गएर कृषिमा लगानी गरेको राम्रो तर त्यसका लागि माटो, हवापानी राम्रो हुनुपर्यो । सबैभन्दा ठूलो चुनौती भनेको प्रोडक्शनपछिको मार्केटिङको हो ।
दीर्घकालिन रुपमा कृषिमा लगानी गरेर प्रतिफल आउँछ भन्ने विश्वास बैंकलाई छ ?
बैंकसँग आफ्नो अनुभव हुन्छ, टिम हुन्छ, लगानीका लागि योजना छनोट गर्न सक्नुपर्छ । जो कोहीका लागि यतिकै पैसा दिने त होइन ! फाइनान्स कम्पनीको हकमा उसले सामान राखेर फाइनान्स गर्न पाउँदैन, त्यसका लागि ऐनले नै रोकेको छ । मुख्य कुरा भनेको प्रोजेक्ट नै हो । प्रोजेक्ट नै उपयुक्त भयो भने प्रतिफल पक्कै आउँछ ।
तपाईंलाई कृषिमा लगानी गरेर देशले आर्थिक समृद्धि गर्न सक्छ भन्ने लाग्छ कि लाग्दैन ?
तपाईं हामी सबैलाई थाहा नै छ कि देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा मुख्य योगदान दिने भनेकै रेमिट्यान्सले हो । जति पनि बाहिर गएका युवाहरु छन्, उनीहरुलाई ल्याएर यहाँको उत्पादनमूलक क्षेत्रमा लगाउन सकियो भने त उत्पादन यहीँ हुन्छ । रेमिट्यान्स आउँछ अनि हामी त्यही सामान किन्न बाहिर जान्छौँ । अन्ततः हातमा लायो शून्य नै हो । मेहनत गरेर पैसा पठाएको हुन्छ, हामी यहाँ बसेर त्यही पैसाले दाल, चामल, तेल सबै मगाएर खान्छौँ । त्यसकारण हामीसँग अर्को अप्सन नै छैन, कृषिमा त जानैपर्छ । कृषि लगायत आफ्नै उत्पादनमा जानैपर्यो ।
यहाँहरुले कृषि क्षेत्रको लगानीबारे रिसर्च गरिरहनुभएको छ । बैदेशिक रोजगारीबाट फर्किएकालाई पनि कृषि कर्ममा जोडिने आशा अपेक्षा हुन्छ । त्यसको लागि सम्भावना के छ ?
सम्भावना नहुने भन्नेमा कुनै शंका नै छैन । तपाईं आफैँ पनि हेर्नुस्, हाम्रो हावापानी कस्तो छ । पूर्व देखि पश्चिमसम्म जाने हो भने संसारमा पाइने सबै किसिमका हावपानी हमीसँग छ, नहुने त कुरै छैन । सबैभन्दा पहिला तपाईंलाई मौसम, वातावरणले साथ दिनुपर्यो । हामीसँग विद्युत् आपूर्ति निरन्तर हुनुपर्ने जरुरी छ । यसमा पनि सरकारले धेरै हदसम्म त काम गरिसकेको छ । जस्तैः कोल्ड स्टोरेजका लागि चौबिसै घण्टा बिजुली चाहिन्छ । त्यसैकारण सरकारको तर्फबाट कृषि उत्पादनलाई सपोर्ट गर्नका लागि आवश्यक पूर्वाधारहरुको व्यवस्था गरिदिनुपर्यो । त्यसपछि नहुने कुरै छैन, विस्तारै भइराखेको पनि छ ।
हामीलाई ठूलो चुनौती भनेको मार्केटिङको हो । कमसेकम हामीले दैनिक उपभोग गर्ने वस्तुहरु यही उत्पादन गर्न सकियो भने आयात त धेरै घट्छ नि !
फर्केर आउनेहरुलाई बैंक तथा फाइनान्सहरुले लगानीका लागि विश्वास गर्छ कि गर्दैन ?
लगानी गर्ने भनेको बैंक तथा वित्तीय संस्थाहरुले हो । हामीलाई केन्द्रीय बैंकले पनि कुन सेक्टरमा कति प्रतिशतसम्म लगानी जानुपर्छ भनेर भनेको हुन्छ । हामीले त्यही किसिमले काम गरिराखेका छौँ । केन्द्रीय बैंक भनेको देशको आर्थिक सल्लाहकार नै हो, त्यसकारण भूमिका भनेको सरकारकै हुन्छ । र, भइरहेको पनि छ । हिजोको दिनमा हामी लोडसेडिङमा बस्नुपथ्र्यो । आजको दिनमा बैंक तथा वित्तीय संस्थाहरु निजी क्षेत्रबाट आएर कति बिजुली उत्पादन भइराखेको छ । कति ठूला ठूला प्रोजेक्टहरुको पनि क्लोजर भएको छ । त्यस्तै गरेर कृषिमा पनि भइहाल्छ नि ! नहुने भन्ने त कुरै छैन ।
नेपालमा बसेर काम पनि नगर्ने र निराशा फैलाउनेहरु पनि छन् नि ?
जे पनि भएन, यहाँ केही हुँदैन भन्ने एउटा समूह त्यस्तो पनि देखिएको छ । हो, सजिलो छैन । राम्रो, कन्स्ट्रक्टिभ काम गर्नका लागि सोच्नुपर्यो । नराम्रो भन्नका लागि त सोच्नै परेन नि ! जे पनि मन पर्दैन उहाँहरुलाई । एउटा मान्छेले काम गरिरहेको छ भने यो काम यसरी गर्नु ठीक थिएन भन्दिए भयो । उल्टो कुरा गर्न सजिलो छ । जब मान्छेलाई फुर्सद हुन्छ, तब यस्ता कुराहरु आउँछ । यहाँ काम नै काम भयो यस्तो कुरा गरेर बस्ने कसलाई फुर्सद हुन्छ ? त्यसैले मुख्य कुरा रोजगारी सिर्जना हुनपर्यो । त्यसका लागि नेपाल जस्तो देशले फोकस गर्ने भनेको उत्पादनमूलक क्षेत्रमा कृषि, सेवामा पर्यटनमा हो । सबै कुरा राम्रो हुने हो भने हामीसँग यहाँ भएका जनशक्तिले पुग्दै पुग्दैन । रेमिट्यान्सको निर्भरता घटाउनका लागि देशभित्रै रोजगारी सिर्जना गर्नै पर्छ ।
पछिल्लो समय बजेटमा पनि स्टार्टअपलाई सहयोग गर्ने जस्ता धेरै कुराहरु समेटिएको छ । लागू गर्ने अवस्थामा कसरी जान्छ भन्ने हेर्न बाँकि छ । सरकारको पनि आफ्नो दायरा हुन्छ । रातारात सबै खोजेर हुँदैन, विस्तारै भइराखेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend