बुधबार, असार २५ २०८२

बुधबार, असार २५ २०८२

चिडियाखानामा रहेको दुर्लभ रेडपाण्डाको मिर्गौला फेल भएर मृत्यु

चिडियाखानामा रहेको दुर्लभ रेडपाण्डाको मिर्गौला फेल भएर मृत्यु

फाइल तस्बिर

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको एक मात्र दुर्लभ ‘रेडपाण्डा’ केही दिनअघि मरेको छ ।

उक्त रेडपान्डा गत जेठ ३१ गते मिर्गौला फेल भएर मरेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले बताए। विसं २०७२ सालमा ल्याइएको रेडपान्डा अवलोकनकर्ताको मुख्य आकर्षक थियो । चिडियाखाना व्यवस्थापनले रेडपान्डा पाइने गौरीशङ्कर संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र इलाम क्षेत्रबाट एक जोडी रेडपान्डा चिडियाखानामा ल्याउनका लागि प्रक्रियाअघि बढाइसकेको जनाएको छ ।

त्यसैगरी, चिडियाखानामा एउटा मात्रै गैँडा रहेको अवस्थामा विश्व वातावरण दिवसका अवसर पारेर गत जेठ २२ गते चितवनबाट ल्याइएको एक जोडी गैँडा थप गरिएको छ । वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पहलमा ती गैँडा थप गरिएका हुन् । चिडियाखानामा हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामसलगायत ठूला वन्यजन्तुदेखि दुर्लभ जीवजन्तु रहेका छन् ।

हाल चिडियाखानामा पाँचवटा वयस्क पाटेबाघ रहेका छन् । खोरको कमीले ती बाघको व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । व्यवस्थापनले दुई जोडी बाघलाई मात्र पालैपालो फरकफरक स्थानमा अवलोकनका लागि राख्ने र बाँकी एक बाघलाई भने खोरको अभावका कारण ‘होल्डिङ’मा राख्ने गरेको छ । दुई भाले बाघसँगै राख्दा आपसमा लडेर मर्नसक्ने खतराका कारण जोडी बाघलाई मात्रै सँगै राख्ने गरिएको हो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । जावलाखेलस्थित सदर चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको छ । पहिलो ३० वर्षको अवधि समाप्त भएपछि वन मन्त्रालयले हालै मात्र अर्को थप ३० वर्षका लागि कोषलाई चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी प्रदान गरिसकेको छ । करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल ११७ प्रजातिका एक हजार ३०० वन्यजन्तु तथा पक्षी रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend