
‘२४ औं घण्टामा ‘१२ दिने युद्ध’ को औपचारिक अन्त्य विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् । उनले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्याउने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ दिएका छन् ।
इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ उनले लेखेका छन् ।
ट्रम्पले करिब ६ घण्टापछि इजरायल र इरानले हाल जारी अन्तिम मिसनहरू सम्पन्न गरेसँगै युद्धविराम सुरू हुने स्पष्ट पारेका छन् ।
ट्रम्पका अनुसार औपचारिक रूपमा युद्धविरामको सुरुआत इरानले गर्नेछ र १२ औं घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ।
‘२४ औं घण्टामा ‘१२ दिने युद्ध’ को औपचारिक अन्त्य विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ,’ उनले लेखेका छन्, ‘युद्धविराम अवधिभर एक पक्ष शान्त र सम्मानजनक व्यवहारमा रहनेछ, जब अर्कोतर्फबाट युद्धविराम जारी हुनेछ।’
ट्रम्पले सबै कुरा योजना अनुसार अघि बढ्ने विश्वासका व्यक्त गर्दै लेखेका छन्, ‘जुन निःसन्देह अघि बढ्नेछ । म दुवै देश इजरायल र इरानलाई यस्तो युद्ध अन्त्य गर्ने साहस, धैर्य र विवेकका लागि बधाई दिन चाहन्छु।’
रोयटर्स न्युज एजेन्सीका अनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानलाई अमेरिकाको युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि मनाएको हो । यो कुराकानी इरानी अधिकारीहरुसँग टेलिफोनमा भएको थियो । ट्रम्पले इजरायल पनि युद्धविरामका लागि तयार रहेको र यसका लागि कतारसँग इरानलाई मनाउन सहयोग मागेको बताएका छन् ।
इजरायलका प्रवास मामिलामन्त्री अमीचाई चिकलीले इजरायल र इरानबीच युद्धविरामको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै इजरायली सैनिक, पाइलट, गुप्तचर निकायका अधिकारी र अन्य मानिसहरुलाई धन्यवाद दिएका छन् । चिकलीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि ध्यवाद दिँदै भनेका छन्, ‘यो साहसिक निर्णय इतिहासमा विश्वास, साहस र नैतिक मुखरताका लागि याद गरिनेछ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend