शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

‘युवा आक्रोसको सही बैठान गर्न सकिएन भने विपरीत मार्ग फराकिलो बन्न सक्छ’

‘युवा आक्रोसको सही बैठान गर्न सकिएन भने विपरीत मार्ग फराकिलो बन्न सक्छ’

इतिहासको मूल्य नबिर्सौं

• टिकाराम सुनार

काठमाडौँ । सडकमा उर्लिएको ‘जेनजी’ प्रदर्शनले निम्त्याएका परिणामहरू हाम्रा अगाडि नै छन् । त्यसको ‘रापताप’ केही सेलाउँदैछ, तर नेपाली राजनीति र समाजलाई सोधेका कठोर प्रश्न अझै तातै छन् । आक्रोश र निराशाको ‘ज्वालामुखी’ किन फुट्यो ? हामी यो प्रश्नभन्दा पर पुगिसकेका छौँ ।

अब त्यसले उत्सर्जन गरेका ‘विषय’ कसरी सम्बोधन हुन्छन् ? यो प्रश्न हाम्रा अगाडि छ । यसको तत्कालको उत्तर हो– गोलीले दागेका ‘घाउ’ मा मल्हम लगाउँदै आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको सुनिश्चित गर्नु । दीर्घकालीन उत्तर भने भ्रष्टाचार, कुशासन, दण्डहिनताको अन्त्य गर्दै सुशासन र समावेशी लोकतन्त्र उन्नत बनाउन आवश्यक वातावरण बनाउनु ।

अहिले समाजमा आशा र निराशा दुवै मडारिरहेका छन् । कसैले बादलभित्र ‘चाँदीको घेरा’ देखिरहेका छन् भने कसैले ‘कालो बादल’ । यी दुई मनोविज्ञानबाट ग्रस्त र त्रस्त हुने अवस्था छ । गलत सूचनाको बाढीले समाजलाई दोबाटोमा उभ्याइरहेको छ । एकातर्फ सुदृढ लोकतन्त्र, सुधारिएको दलीय व्यवस्था, सबैको विकास र सबैको अपनत्व भएको नेपाल ।

अर्कोतर्फ उत्तेजना र निराशाको आवरणमा भय सिर्जना गरेर ‘राष्ट्र’ र ‘राष्ट्रिय हित’ रक्षाको नाममा एउटा ‘नायकत्व’ भेट्ने बाटो । नेपाली समाजले पहिलो बाटोतर्फको यात्रालाई सुरक्षित देख्छ तर युवा आक्रोसको सही बैठान गर्न सकिएन भने विपरीत मार्ग फराकिलो बन्न सक्छ ।

‘युवा आक्रोस’

असन्तोष नेपाली समाजको स्थायी प्रवृत्तिजस्तै भइसकेको छ । यसको जरा भ्रष्टाचार, असमानता, बेरोजगारी र दण्डहीनतासँग जोडिएको छ । राज्य स्रोतको अस्वाभाविक दोहन गर्ने ‘सम्भ्रान्त’ प्रवृत्तिले यसमा मलजल गरिरहेको छ । यस्ता प्रवृत्तिविरुद्ध इतिहासमा पटकपटक यसरी आक्रोश पोखिएका छन् ।

कहिले भद्र, त कहिले उग्र रूपमा, तर जब सुधारको आवाजलाई सुनिदैन र बेवास्ता गरिन्छ, तब आक्रोसले घृणाको रूप लिन्छ । यसले करिब करिब मोहभङ्गको अवस्था निम्त्याउँछ र विध्वंश त्यसको अभिन्न पक्ष बन्छ । ‘जेनजी’ प्रदर्शन यही घृणाको विस्तारित रुप हो भन्नेहरू धेरै छन् ।

स्वयं जेनजीका प्रतिनिधिले नै परिवर्तनको तीव्र चाहना, शक्ति र सत्ता पुस्तान्तरणको अपिल, स्वदेशमै रोजगारी र असमानता अन्त्य गरिनुपर्छ भन्ने आवाजलाई बेवास्ता गरेपछि यो तहको ‘घृणा’ उत्पन्न भएको भनिरहेका छन् । फेरि पनि यो आवाज सुन्ने समय छ ।

यसको समाधान एकै छ–जवाफदेहिता, सुशासन र समान अवसरसहितको समुन्नत नेपाल । सूचना प्रविधिसँगै भइरहेको अभूतपूर्व विकासको गतिसँग गति मिलाउने अवस्था । जेनजीभित्रका अधिकांश समूहले चेतावनी दिँदै भनिरहेका छन्, सामाजिक, राजनीतिक र संरचनागत असफलताले संस्थागत गरेका पुराना समस्याको अन्त्य गर ।

‘इतिहासको मूल्य’

नेपालसँग परिवर्तनका खातिर भएका सशस्त्र र निशस्त्र दुवैखाले विद्रोहको अनुभव छ । विभिन्न समयमा भएका सशस्त्र आन्दोलनको नेतृत्व गर्ने शक्ति (दल) अझै क्रियाशील छन् । त्यहीभित्र ‘जेनजी’ ले जस्तै सुधारको वकालत गरिरहेको र परिवर्तनका मुद्दा निरन्तर उठाइरहेको ठूलो ‘अग्रगामी’ हिस्सा छ । विडम्बना त्योभन्दा ठूलो राजनीतिक रूपमा ‘सम्भ्रान्त’ हिस्सा छ, जो सत्ताको चरम मदहोस्मा ‘भाव शून्य’ झैँ प्रस्तुत हुन्छ । त्यसले परिणाम दिने सामथ्र्य राख्दैन ।

निःशस्त्र विद्रोहको कुरा गर्दा लैङ्गिक समानताका लागि नारीवादी आन्दोलन, पहिचान र आत्मसम्मानका लागि आदिवासी जनजाति, मधेसी, थरुहटलगायत आन्दोलन, मानवोचित व्यवहार, सामाजिक न्याय र समानताका खातिर दलित, पिछडा वर्ग र सीमान्तकृतहरूका आन्दोलन भएका छन् । यी हरेक सङ्घर्षले अगाडि धकेलेका छन्, समकालीन सामन्तवादी समाजलाई अग्रगामी र प्रगतिशील बाटोमा डोर्याएका छन् । तिनै आन्दोलनले रैतीलाई नागरिक र नागरिकलाई सार्वभौम बनाएका हुन् ।

यो इतिहासको प्रसङ्ग घटनाहरूको विवरण मात्रै होइन, नेपाली समाजको स्मृति, सङ्घर्ष र भविष्य निर्माणको गोरेटो पनि हो । यी इतिहाससँग स्वतन्त्रता, समानता र न्यायका मूल्य गाँसिएका छन् । कहिलेकाहीँ इतिहासका ‘गौरवगाथा’ स्मृतिमा राख्ने तर मूल्यहरू पन्छाउने प्रयत्न हुन्छन्, त्यसो गर्दा इतिहास केबल पुस्तकमा मात्रै कैद हुन्छ, त्यसले समाज बदल्ने शक्ति बोक्दैन ।

यसलाई ख्याल गरिएन भने हाल सडकमा पोखिएको आक्रोशलाई पनि समाज बदल्ने शक्तिमा रूपान्तरण गर्न नसकिने खतरा रहन्छ । यसर्थ अब सावधानीपूर्वक इतिहास निर्माणको खाँचो छ । यसरी लेखिने इतिहास केबल घटना र पात्रमा सीमित हुनु हुँदैन, त्यससँग जोडिएका आदर्श र मूल्य पनि हेरिनुपर्छ । सोच्नुपर्छ–मूल्यविहीन इतिहास आत्माविहीन शरीर जस्तै हो, जसको अस्तित्व त हुन्छ तर जीवन हुँदैन ।

यसो भनिरहँदा यो पनि भुल्नु हुँदैन–हालको ‘जेनजी’ विद्रोहभित्र काठमाडौँ मात्रै होइन, देशभरका भावना मिसिएका छन् । देशको राजनीतिक भूगोल मात्रै होइन, त्योभन्दा बाहिर रहेका आमनेपाली सपना जोडिएका छन् । त्यसलाई चिन्नु र सुन्नु सक्नुपर्छ । अब लेखिने इतिहासले १४२ भन्दा बढी जातजाति, १२४ भन्दाबढी भाषाभाषी र १० भन्दाबढी धर्मका संवेदनालाई बोक्न सक्नुपर्छ ।

प्रदर्शनका क्रममा बलिदानी दिने र घाइते हुनेका पीडा त छँदैछन्, जनप्रतिनिधिको सर्वोच्च संस्था संसद्, न्यायको मन्दिर सर्वोच्च अदालत र सेवा प्रवाहको थलो सिंहदरबार जलाएपछिको ‘आत्मग्लानी’ लाई पनि बुझ्नुपर्छ । तिनले पुकारा गरिरहेका छन्–हामीलाई जीवन्त संविधान, अझ सबल र समावेशी राज्य प्रणाली, उन्नत लोकतन्त्र र सद्भावसहितको नेपाल चाहिएको छ ।

यसविपरीत कतिपयले संविधान फाल्ने, सङ्घीयता मेटाउने, समावेशी प्रणाली खारेज गर्नेजस्ता अभिव्यक्ति दिइरहेका छन् । यस्ता अभिव्यक्ति र सोचले विगतका हजारौँ सहिद र हालका ७६ जनाको बलिदानी तथा सयौँको रगतको उपहास गर्छ । यो संविधान कागजको दस्ताबेज मात्रै होइन, यो हजारौँको बलिदानको उपज हो । यसमा जहाँनिया राणा शासनविरोधी जनक्रान्तिदेखि परिवर्तनका लागि हालसम्म भएका सङ्घर्षका मूल्य र भावना अन्तरनिहीत छन् ।

‘संविधान र बलिदान’

हाम्रो अगाडिका उपलब्धि हजारौँ सहिद र लाखौँ नागरिकका सङ्घर्षका परिणाम हुन् । हाम्रो आँकडाले नै यसमा १४ हजार ६०८ जना सहिद (विसं २०८० पुस २४ मा घोषणा) को प्राण छ । लाखौँको रगत लत्पत्तिएको छ । माओवादी सशस्त्र द्वन्द्वमा मात्र १७ हजारले बलिदानी गरेको तथ्य राज्यको स्मृतिमै छ । त्यसबाहेक सामाजिक, सांस्कृतिक, लैङ्गिक र जातीय उत्पीडनविरुद्ध भएका सङ्घर्षका थुप्रै कथा इतिहासका पानामा सुरक्षित छन् । यी उदाहरणले आजको नेपाल थुप्रै वीर विरङ्गनाको त्याग र बलिदानीमाथि उभिएको प्रष्ट देखाउँछ ।

ती सबै भावना संविधानसभामार्फत निर्मित नेपालको संविधानमा समेट्ने प्रयास भएका छन् । यसको आत्मा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र नागरिक सर्वोच्चता हो । भलै यसविरुद्ध र यसलाई अझ समृद्ध बनाउने चाहनासहित विभिन्न समूहले असन्तुष्टि पोखिरहेका छन् । उदारवादी लोकतन्त्रको चरित्र, समाजवादको यात्रा, बहुलवादको सिद्धान्त र सम्पत्तिमाथि व्यक्तिको अधिकार तथा सामाजिक न्याय स्थापनाको सङ्कल्प गरिएकाले ती विरोध यसैभित्र बाँधिएका छन् ।

हो, ती सङ्कल्प कार्यान्वयन गर्न राज्यको क्षमता र नेतृत्वको अक्षमताले केही व्यवधान उत्पन्न भएका छन् । यी व्यवधान हटाउँछु भन्ने चाहना भएका हरेक सार्वभौम नागरिकलाई ‘नेतृत्व’ गर्ने अवसर यसै संविधानले सुरक्षित गरेको छ । यसका लागि राज्यको रु २९ अर्बभन्दा बढी खर्च भएको छ ।

अनौपचारिक क्षेत्र र गैरसरकारी सङ्घसंस्थाले गरेको हिसाब जोड्ने हो भने यो आँकडा करिब रु ५० अर्ब पुग्ने अर्थविज्ञले नै भन्छन् । आँकडाको कुरा मात्रै होइन, त्यो रकम र समयभित्र अन्तर्निहित मूल्य चानचुने छैन ।

त्यसैले ‘फलाम तातिएको छ यहीबेला हिर्काउने’ भन्ने सोच भएकाहरूको अतिरञ्जनाबाट माथि उठौँ । संविधान र व्यवस्थामा कमजोरी छन्, तर सुधार गर्न सकिने प्रशस्त गुञ्जायस पनि छन् । सुधारको बाटो फराकिलो बनाउनु अहिलेको आवश्यकता हो । अहिलेका समस्या संविधान र व्यवस्थाभन्दा बढी समयको गति पक्रिन नसक्ने, युगको आवाज सुन्न नचाहने नेतृत्व प्रवृत्तिले निम्त्याएका हुन् ।

यसैविरुद्ध निर्मम चेतावनी दिन ‘जेनजी’ का नाममा सबै सडकमा आएका हुन् । त्यसैले स्मृत्तिमै राखौँ, सार्वभौम नागरिक अधिकार खोसिने अवस्था आउँदा र हजारौँको बलिदानीपछिका उपलब्धि माथि धावा बोल्दा नेपाली आत्माहरू बौरिन्छन् । शालिन लाग्ने ‘मान्छे’ हरूले मौनता भङ्ग गर्छन् । हिजो गरे, आज पनि गर्छन् ।

‘सम्हालिँदै अगाडि बढौँ’

आजको नेपाल बनाउन कैयौँ शताब्दी बितेका छन्, भलै धेरैलाई योभन्दा कैयन राम्रो नेपाल बनाउन सकिन्थ्यो भन्ने लाग्छ । त्यो बहसकै विषय हो, तर आज हाम्रा अगाडि जेजस्तो नेपाल छ, त्यो समयको प्रतिफल मात्रै होइन, पुर्खाहरूको पौरखको उपलब्धि हो । अब यसलाई भत्काउने होइन, सिँगार्नेहरूको खाँचो छ । सबैको अपनत्व र सबैका लागि अवसर भएको नेपाल आजको आवश्यकता हो ।

त्यस्तो अवस्था बनाउन सकिएमा मात्रै बलिदानको मूल्य सुरक्षित रहन्छ । लोकतन्त्रको भविष्य उज्यालो हुन्छ । काठमाडौँका सडक र मञ्चमा पोखिने आवाज मात्रै होइन, ‘समग्र नेपाल’ को आवाज सुरक्षित भए मात्रै त्यस्तो नेपाल बन्नसक्छ ।

सुन्दर नेपालको सपना देख्दा केही दशकयता मात्रै आत्मसम्मान महसुस गर्न थालेको मधेस (करिब २१ प्रतिशत) को मनोभावना बिर्सन मिल्दैन । समान अवसरको वकालत गर्दा संविधानले सुनिश्चित गरेको सकारात्मक विभेद्पछि राज्य मेरो पनि हो भनेर अपनत्व महसुस गर्न थालेको दलित (१३ दशमलव ४ प्रतिशत) को मलिन आवाजलाई पनि बुझ्नुपर्छ । गणतन्त्र र संविधानपछि राज्यको सर्वोच्च पदमा आफ्नो अनुहार देखेका महिला (५१ दशमलव १३ प्रतिशत) को भावनालाई ठेस पुर्याउन मिल्दैन ।

यही संविधानपछि आफ्नो भाषा, संस्कृति र पहिचानमा गौरव गरिरहेको आदिवासी/जानजाति (३४ दशमलव ८७ प्रतिशत) लगायतको भावनालाई नजरअन्दाज गरिनु हुँदैन । विकट भूगोलकै कारण अवसरबाट पर परेका जनता पिछडिएको भूगोलका आवाज र सबै प्रकारका सामन्तवादी सोचको बर्खिलापमा रहेका बहुसङ्ख्यक खस आर्यको मौनतालाई कमजोर आँक्नु हुँदैन ।

यी सबैसँगै भएको सद्भावसहितको नेपालले मात्रै सुन्दर भविष्यको गोरेटो कोर्न सक्छ । यी सबैलाई एकताको सुत्रमा बाधेर हिँड्ने सोचसहित लेखिएको इतिहास मात्रै दिगो हुन्छ । अन्यथा भएका उपलब्धि मेटेर योभन्दा धेरै राम्रो गर्न सकिन्छ भन्ने भ्रम पालेमा ‘भूँइको टिप्दा पोल्टाको गुम्ने’ अवस्था आउन सक्छ । नेपालको विविधता कमजोरी होइन, यो शक्ति हो ।

यही विविधताले नेपाललाई विशेष बनाएको छ । संविधान, सङ्घीयता र समावेशी व्यवस्थाले त्यही विविधतालाई संस्थागत गर्ने अठोट बोकेको छ । त्यसलाई गोडमेल गर्दै समुन्नत नेपाल निर्माण गर्ने प्रशस्त ठाउँ छ । सबैलाई जोड्ने सोचसहितको आक्रोसले मात्रै वैधता पाउँछ । त्यस्तो सोचले इतिहास निर्माणको शक्ति आर्जन गर्छ । यसर्थ, सहमति र समन्वयको बाटोबाट युवापुस्ताले देखेको नेपाल बनाउन हातेमालो गरौँ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend