काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जेनजी विद्रोहले दिएको म्याण्डेट अनुसारको कार्यबाट डिरेल हुने छुट सरकारलाई नभएको बताएका हुन् । वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै बस्नेतले विधिको शासन, दण्डहिनता र भ्रष्टाचारको अन्त्य तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा कार्यान्वयन गर्ने म्याण्डेट पाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफूले पाएको आन्दोलनको म्याण्डेटलाई शिरोपर गरी दृढतापूर्वक अगाडि बढ्नुपर्ने बताएका हुन् ।
बस्नेतले भने, ‘कांग्रेस–कम्युनिष्टको शासनले जनता प्रताडीत थिए । मुलुकमा भ्रष्टाचार व्याप्त छ भन्ने हरेक नागरिकलाई थाहा थियो । संसद नै मन्त्री बन्ने वर्तमान राजनीतिक परिपाटी ठीक होइन भन्ने धेरै थिए तर जेनजी विद्रोहसँगै मुलुकमा शासनसत्ताको उलटफेर र राजनीतिक खेलका नियमलाई बदल्ने सुनौलो मौका आएको छ ।’
अपराधी, भ्रष्टलाई दण्डीत गर्नुुहुँदैन भनेर कुनै नेपाली नागरिक सडकमा आउन नसक्ने उनको तर्क छ । लामो समयसम्म सत्ताको दोहन गरेका कांग्रेस–कम्युनिष्टको लागि वर्तमान राजनीतिक परिस्थिति असह्य हुनु स्वभाविक भएको भन्दै विवेकपूर्ण र संयमित भई मुलुकलाई उज्यालो राजनीतिक भविष्य देखाउने काममा सरकार लाग्नुपर्ने उनको भनाइ छ ।
बस्नेत मुलुकमा विधिको शासनको ग्यारेन्टी हुनुपर्ने धारणा राख्छन् । कांग्रेस–कम्युनिष्टको शासनकालमा जस्तो वर्तमान सरकारको शासनकाल दोषपूर्ण, प्रतिशोधपूर्ण, पूर्वाग्रही हुन नहुनेमा जोड दिन्छन् । बस्नेत जेनजी विद्रोह समान कसूरमा कसैलाई सजाय त कसैलाई पुरस्कृत गर्ने कांग्रेस–कम्युनिष्ट शासन शैलीमाथिको प्रहार पनि भएको बताउँछन् ।
जनताले शासन सत्ताको आडमा भएका सबैखाले अपराध, दण्डहिनता, भ्रष्टाचारको छानबिन र कारबाही गर्न सक्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने सरकार चाहेको भन्दै यो जिम्मेवारीको थालनी वर्तमान सरकारबाटै हुनुपर्नेमा उनले जोड दिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend