काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै टी-२०आई शृंखला जितेको छ ।
बुधबार बिहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले टी–२० सिरिजको फाइनलमा नेपाललाई १०४ रनको चुनौती दिएको थियो ।
उक्त चुनौती विरुद्ध उत्रिएको नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । खेलमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् भने रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।
मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १/१ विकेट लिए ।
मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् । नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend