शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

भोलि कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक, सभापति देउवा उपस्थित हुने सम्भावना

भोलि कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक, सभापति देउवा उपस्थित हुने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि पदाधिकारी र पूर्वपदाधिकारी बैठक भोलि अर्थात् असोज २३ गते बस्दैछ। उपसभापति पूर्णबहादुर खड्काको आह्वानमा काठमाडौंको होटल हिमालयमा बैठक बस्ने भएको हो ।

उपसभापति, महामन्त्री, सह–महामन्त्रीसहित कार्य समितिका पदाधिकारी र पूर्वपदाधिकारीहरू उपस्थित हुनेछन्। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने सम्भावना रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

यो बैठकले असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र अन्तिम तयारी गर्ने बताइएको छ ।

सभापति देउवानिकट स्रोतले ‘सभापति देउवाले नै केन्द्रीय समिति बैठक बोलाएकोले भोलिको बैठकमा पनि भाग लिने कुरा’ बताएको छ। सभापति देउवा सार्वजनिक रूपमा नदेखिएको २९ दिन भइसकेको छ।

सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित घरमै आक्रमण भएको थियो। त्यसपछि उनी सार्वजनिक भएका छैनन् ।

विगतमा सभापति देउवाले स्वयं पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेर एजेन्डा तय गर्ने परम्परा बनाएका थिए। तर यसपालि भने बैठक बोलाउने जिम्मेवारी उपसभापति खड्काले लिएका छन्।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend